पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित


पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा मुस्लिम लिग–नवाज पीएमएल–एन का नेता शहबाज शरिफ निर्वाचित भएका छन्। उनी पाकिस्तानका २३औं प्रधानमन्त्री हुन्। 

पाकिस्तानको राष्ट्रिय सभामा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुने कार्यतालिका थियो। अन्तिम समयमा पाकिस्तान तेहरीक–ई–इन्साफले मतदान बहिष्कार गरेपछि शहबाज निर्विरोध प्रधानमन्त्री चुनिएका हुन्। 

नवनिर्वाचित शहबाज, पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन् । नवनिर्वाचित प्रधानमन्त्री शहबाज सन् १९९७, २००८ र २०१३ मा सबैभन्दा लामो समय पञ्जाबको मुख्यमन्त्री बनेका थिए। 

निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित गरेपछि पाकिस्तानमा नयाँ प्रधानमन्त्री चुनिएको हो। अविश्वास प्रस्तावबाट पदच्युत हुने खान पहिलो प्रधानमन्त्री हुन्। पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गरेका छैनन्।

Logo