निषेधाज्ञामा पनि किन बढिरहेको छ कोरोना ? विज्ञहरु भन्छन्, “ट्रेसिङ र आइसोलेट प्रभावकारी भएन”

निषेधाज्ञामा पनि किन बढिरहेको छ कोरोना ? विज्ञहरु भन्छन्, “ट्रेसिङ र आइसोलेट प्रभावकारी भएन”


काठमाडौं । विगत ८ महिना अगाडि चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ देखि करिव चार महिना लामो लकडाउन गरियो । अस्तव्यस्त अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारले गत साउन ६ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गर्यो ।

यसरी सरकारले लकडाउन अन्त्य गरेसगै उपत्यका लगायत देशभर मानिसहरूको जीवन सामान्य अवस्थामा फर्किन थाल्यो । विभिन्न उघोग व्यवसाय पनि सञ्चालनमा आए । उद्योग व्यापार व्यवसाय सञ्चालनमा आउन थालेसँगै लकडाउनमा गाउँ गएका मानिसहरू उपत्यका भित्रिए । लकडाउन अन्त्यसँगै बढ्दो चहलपहलले उपत्यका सहित देशभर पुनः कोरोना संत्रमण बढ्दै गयो ।

यसरी संत्रमण बढ्दै गएपछि अहिले काठमाडौं उपत्यका सहित ४९ जिल्लामा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञा लागू गरिएको छ । उपत्इकामा एक साताको लागि भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा दुई पटक थप गरि भदौ २४ गतेसम्म कायम गरिएको छ ।

संक्रमण कम गर्न निषेधाज्ञा लागू गरिएको भएपनि निषेधाज्ञा लागु भएको दिन देखि अझ संक्रमण तथा मुत्यु समेत बढ्दै गएको छ । सरकारले लकडाउन अन्त्य गरेको दिन साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो भने त्यो अवधिमा मुत्यु हुने जम्मा ४० जना मात्रै रहेका थिए । तर लकडाउन अन्त्य भएको देखि संक्रमिण र मृत्यु हुनेको संख्या निकै नै बढेको छ ।

साउन ६ गते देखि भदौ १८ गते बिहिबारसम्म झन्डै तेब्बरले बृद्वि भएको छ । लकडाउन अन्त्य पश्चात् २४ हजार ८८३ जना संक्रमित र मुत्यु हुने २१७ जनाले बढेका छन ।
त्यस्तै,निषेधाज्ञा लागू भएको १५ दिनमा मात्रै १४ हजार ६ सय १९ जना बढेका छन् । मुत्यु पनि ११५ जना रहेकोमा दोब्बर भन्दा बढिले बढेर २५७ जना पुगेको छ।

बिहीबार हालसम्मकै सर्वाधिक संक्रमण १ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएर कुल संत्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ। कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५७ पुगिसकेको छ भने निको भएर डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ६ पुगेको छ ।


७७ जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा बढी संक्रमित 

देशका ७७ जिल्लामध्ये अहिलेसम्म सबैभन्दा बढि संक्रमितको सङ्ख्या काठमाडौं जिल्लामा रहेको छ । बिहिवारसम्ममा काठमाडौंमा मात्रै ५ हजार ६२२ जना ,ललितपुरमा ८४८ र भक्तपुरमा ५९८ जना रहेका छन ।यसरी कोरोना संक्रमणको संख्या बढिरहँदा काठमाडौं उपत्यका तीन जिल्लामामात्रै ७ हजार ३८ जना पुगेका छन ।

निषेधाज्ञामा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ । यसरी निषेधाज्ञा पनि कोरोना संक्रमणदर बढ्नुको कारण सरकारले निषेधाज्ञा लागू गरेपनि ट्रेसिङ र आइसोलेट प्रभावकारी नभएकाले संत्रमण बढिरहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे निषेधाज्ञा लागू भए पनि काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढ्दै गएको र संक्रमण रोकथामको लागि कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।उनले अहिलेसम्म पनि सरकारले परीक्षणको दायरा निकै साँघुरो भएको र ६० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा दिनको तीन चार हजार व्यक्तिको पीसीआर टेस्ट गर्दा संक्रमणको अवस्था के छ भन्ने थाहा पाउन सकिंदैन ।

उनले भने, ‘पुलिंग मेथड अपनाएर दिनको ५०–६० हजार जनाको परीक्षण गर्ने, वडावडामा शंकास्पद ठाउँमा खोजीखोजी परीक्षण गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाएमा मात्रै कोरोना संक्रमण कुन अवस्थामा छ थाहा पाउन सकिन्छ ।’ उनले निषेधाज्ञाको प्रभावकारी नभएकाले अब परिक्षण दायरा बढाएर, सुरक्षाका मापदण्ड लागू गरेर निषेधाज्ञा खुकुलो गर्ने र जनस्वास्थ्य मापदण्ड कडाइका साथ अनुगमन र निगरानी गर्ने हो भने संक्रमण घट्दै जाने बताए ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी उपत्यकामा निशेषाज्ञा लागू गरे पनि संक्रमितको संख्या अझै थपिँदै गएको बताएका छन ।अहिले पीसीआर परीक्षण पनि महंगो भएको र परीक्षण सजिलो बनाउने उपाय अपनाउनुपर्ने बताए ।

उनले निषेधाज्ञाले संक्रमितको संख्या घट्ने होइन, निषेधाज्ञाको प्रभाव देखिन अझै १४ दिन लाग्ने बताए । भन्दै उनले भने, ‘भाइरस पसेको १० देखि १४ दिनभित्र देखिने हो । लकडाउन अन्त्य भए पछि मानिसहरु धेरै भिडभाडमा रहेकाले सामान्य अवस्थाको जस्तै अहिले पनि रहेकाले भिडभाड व्यवस्थापन नरिए संत्रमण घट्ने भन्दा पनि बढ्दै जान्छ ।’

त्यस्तै,संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले निषेधाज्ञा आफैँमा कोरोना संक्रमण नियन्त्रण गर्ने उपाय नभएको बताउँछन् । उनका अनुसार निषेधाज्ञाले महामारी नियन्त्रण गर्न थप तयारी वा मौकाको रुपमा लिन सकिन्छ । निषेधाज्ञाको समयले कमजोरीहरुको पहिचान गरेर बलियो बनाउन समय दिन्छ । ट्रेसिङ र आइसोलेट प्रभावकारी रुपमा भएन भने कोरोना नियन्त्रण हुनै नसक्ने उनको जिकिर छ।

डा. सुवेदीले सरकारले कन्ट्क्याट ट्रेसिङमा खासै प्रगति गर्न नसकेको भन्दै उनले धेरै परीक्षण गर्ने र कन्ट्क्याट ट्रेसिङ गरेर संक्रमित पत्ता लगाउन सक्नुपर्ने बताए । उनले निषेधाज्ञा गरेर कन्ट्क्याट ट्रेसिङ बलियो बनाइएको छ कि छैन र सबैलाई परीक्षणको पहुँच छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।

Logo