लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन् । अर्को सातादेखि उनीहरुलाई देश निकाला गर्ने घोषणा गरेका हुन् ।

मंगलबार बिहान राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत सो कुराको जानकारी गराएका हुन् । अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीका अधिकारीहरूले अर्को सातादेखि आप्रवासी हटाउन थाल्ने बताए ।

उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि प्रशंसा गरे । एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो।

आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिवद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका थिए । अमेरिकामा झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेको अनुमान गरिएको छ ।