मोदीको विदेश नीतिमा जयशंकर फ्याक्टर – १

दुस्यन्त दाहाल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक राजधानी नयाँ दिल्लीमा सपथ ग्रहणका लागि तयारी गरिरहँदा केही महत्वपूर्ण मन्त्रालयका जिम्मेवारी क–कसले पाए भन्ने समाचार बाहिरिसकेको थियो ।

महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका मध्ये सबैभन्दा बढी चासो विदेश मन्त्रालयको थियो । मोदीले आफ्ना विदेश मन्त्रीका रुपमा सुब्रमन्यम जयशंकरलाई चुनेका थिए । राजनीतिक पृष्ठभूमि नभएपनि मोदीले पूर्व विदेश सचिव एस. जयशंकरलाई विदेश मामिला विज्ञका रुपमा आफ्नो मन्त्रीमण्डलममा समावेश गरेका हुन् ।

मोदी र जयशंकरबीचको सम्बन्ध बुझ्न केही वर्ष पहिले फर्कनुपर्ने हुन्छ । सन् २०१३ मा भारतीय राज्य गुजरातको मुख्यमन्त्री रहेकाबेला मोदी चीनको भ्रमणमा गएका थिए । चीनमा तत्कालिन भारतीय राजदूत रहेका एस. जयशंकरले मोदीको उक्त भ्रमण सफल मात्र बनाइदिएनन्, भर्खरै शक्तिशाली नेताका रुपमा सत्तामा आएका चीनका राष्ट्रपति सी जिङपिङसँग मोदीको नजिकको सम्बन्ध बनाइदिए ।

विकासमा अत्याधिक फड्को मारिरहेको चीनले राजदूत जयशंकरका कारण मोदीलाई विकासप्रेमि भारतीय नेताका रुपमा चिन्यो । यहि सुमधुर सम्बन्धका आधारमा मोदीले आफ्नो पहिलो प्रधानमन्त्रित्वको कार्यकालमा भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीलाई राजधानी दिल्लीमा नभई गुजरातमा स्वागत गरेका थिए । सी भारत भ्रमणका क्रममा सोझै गुजरात झरेर पछि राजधानी दिल्ली आएका थिए ।

अब मोदी–जयशंकार सम्बन्धको अर्को प्रसंग । सन् २०१४ मा शक्तिशाली जनमत प्राप्त गर्दै पहिलो पटक भारतको प्रधानमन्त्रिका रुपमा उदाएका मोदीलाई अमेरिकाले मानवाधिकार विरोधी नेताको सूचिमा राखेको थियो । सन् २००२ को गुजरात दंगा काण्डको दोषिका रुपमा अमेरिकाले मोदीलाई हेर्ने गरेको थियो । उक्त हिन्दु–मुश्लिम दंगामा एक हजार भन्दा बढीले ज्यान गुमाएका थिए ।

मोदीको उदयसँगै अमेरिकामा रहेका भारतका तत्कालिन राजदूत जयशंकरले वासिङटनमा पनि आफ्नो प्रधानमन्त्रीको छवी मानवाधिकार विरोधी नेताबाट विकासप्रेमी नेताका रुपमा स्थापित गरिदिएका थिए । जयशंकरकै पहलमा मोदीले प्रधानमन्त्रीका रुपमा पहिलो पटक अमेरिका भ्रमण गर्दै न्यूयोर्कस्थित म्याडिसन स्वाक्यर गार्डेनमा भारतीय डायस्पोरामाझ ठूलै भाषण गरेका थिए ।

त्यसपछि मोदी–अमेरिकाबीचको सम्बन्ध स्थापित भएको थियो । राजदूतका रुपमा जयशंकरलाई नजिकबाट राम्रोसँग चिनिसकेपछि मोदीले उनलाई अमेरिकाबाट फिर्ता बोलाउदै भारतको विदेश सचिवका रुपमा नियुक्त गरेका थिए ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि मोदी संघाई सहयोग संगठनको सम्मेलनमा भाग लिन कीर्गिस्तानको राजधानी बिश्केक पुगेका थिए । मोदीको यो यात्रामा उनको नयाँ सरकारको विदेश नीतिसँग जोडिएका प्राथमिकताहरु प्रष्टै देखिने गरिका थिए ।

यो सम्मेलनमा मोदीले क्षेत्रिय संगठनहरुलाई आतंकवादविरुद्ध कडा रुपमा प्रस्तुत हुन आग्रह गरेका थिए । अघिल्ला वर्षहरुमा यो सम्मेलनमा यस्तै किसिमका भाषण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनका चिनियाँ समकक्षी सीले गर्ने गर्थे । त्यसैले आफ्नो दोस्रो सपथ ग्रहणमा मोदीले कीर्गिस्तानका राष्ट्रपतिलाई निम्तो गर्नु संयोग मात्र पक्कै होइन ।

बेइजिङ र मस्को दुबै शक्ति मध्य एशियामा आर्थिक तथा राजनीतिक रुपमा प्रमुख भुमिकाका रुपमा रहेका छन् । भारत यही क्षेत्रमा आफ्ना पहुँच बढाउन कोसिस गरिहरेको छ । र, अब उसको विदेश नीतिमा जयशंकरजस्ता कुशल कूटनीतिज्ञको अनुभव पनि समावेश छ ।

मोदीको विदेश नीति
विदेश नीतिका मामलामा मोदी सरकारले चुनाव जित्नासाथै काम गर्न शुरु गरिसकेको थियो । मोदीले दोस्रो कार्यकालको आफ्नो पहिलो विदेश भ्रमण चुनावको नतिजा लगत्तै मालदिभ्स र श्रीलंकाबाट गरे । उनका विदेश मन्त्री एस. जयशंकरले भूटानबाट आफ्नो विदेश यात्रा शुरु गरे ।

यसबाट पनि मोदीसँगै उनका विदेश मन्त्रीको प्राथमिकतामा छिमेकी राष्ट्रहरु छन् भन्ने बुझ्न गाह्रो पर्दैन । यसले के देखाउछ भने, भारत ‘नेबरहुड फस्ट पोलिसी’ मा समर्पित छ ।

अहिले विश्वमा अमेरिका र चीनबीच ब्यापार युद्ध चलिरहेको छ । मोदीको विदेश नीति विश्व अर्थ ब्यवस्था असन्तुलित भइरहेका बेला आकार लिने प्रयास गर्दैछ । यस्तोमा ब्यापारिक मुद्धाहरुमाथी असन्तुष्टि जनाउँदा भारत–अमेरिका सम्बन्धमाथी पनि असर गर्न सक्छ ।

त्यसो त अमेरिकाले भारतबाट आयात गरिरहेको झण्डै ६ अर्ब डलर बराबरको सामग्रीमा अतिरिक्त शुक लगाउने घोषणा गरेकाले पनि अब दुई मुलुकबीचको ब्यापारिक सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा अन्यौल छ ।

जयशंकरले यस्तो बेला भारतको विदेश मन्त्रालय सम्हालेका छन्, जुनबेला भारत क्षेत्रिय स्तरमा आफ्नो पहिचान बदल्न लागिपरेको छ । जस्तो की, भारत अब सार्क राष्ट्रको मात्र ठूलो मुलुक होइन, बिमस्टेक राष्ट्रको सक्रिय सदस्यका रुपमा पहिचान बनाउन अग्रसर छ ।

बिमस्टेक संगठनमा बङ्लादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका, भुटान, नेपाल र भारत छन् । भारतले पछिल्लो केही वर्षयता आफ्नो विदेश नीतिमा बिमस्टेकलाई प्राथकितामा राखेको प्रस्टै देखिन्छ । त्यसैले पनि उसले संघाई सहयोग संगठन जस्तो विश्वस्तरका नेताहरु सामेल फोरममा आतंकवादलाई प्रश्रय दिनु हुदैन भनेर गरेको भाषण पाकिस्तानविरुद्ध लक्षित रहेको प्रस्ट हुन्छ ।

सन् २०१४ मा मोदी पहिलो पटक प्रधानमन्त्री बन्दा आफ्नो सपथ ग्रहणमा सार्क राष्ट्रका नेतालाई निम्तो गरेका थिए । तर त्यसपछि उनले सार्कको दोस्रो ठूलो मुलुक पाकिस्तानसँग सहकार्य गर्दै अघि बढ्ने सम्भावना नदेख्नु सार्क संगठनको पतन हुनु हो ।

सार्क छाडेर बिमस्टेकलाई प्राथमिकतामा राख्नुसँग भारतको अर्को स्वार्थ जोडिएको छ । बिमस्टेकका माध्यमबाट भारत पूर्वी र दक्षिण–पूर्वी एशियामा आफ्नो उपस्थिति बलियो बनाउन चाहान्छ । आफ्नो ध्यान केन्द्रित गरेर रचनात्मक ढंगबाट अघि बढ्ने सके पूर्व र दक्षिण–पूर्व एशियामा भारतले बिमस्टेकका माध्यमबाट धेरै लाभ लिनेछ ।

भर्खरै सम्पन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को एक्लो भारी बहुमतसँगै मोदी अब विदेश नीतिमा आमुल परिवर्तन गर्दै अघि बढ्न इच्छुक देखिएका छन् । यसपटक मोदी र उनको टिममा जयशंकर पनि जोडिएका छन्, जसको उद्देश्य भारतलाई आफ्नो स्वार्थ बमोजिम बाँकी विश्वसँग जोड्नु रहनेछ । यसका लागि जयशंकरजस्ता अब्बल कूटनीतिज्ञलाई मोदीले ‘स्पेस’ दिनु नौलो कुरा होइन ।