योगमाया नाटक: सीमान्तकृत आवाज
भारती न्यौपाने दाहाल
भारती न्यौपाने दाहाल

 

 

 

 

 

योगमाया उपन्यासलाई नाटकीकरण गर्न लागेको कुरा यसका निर्देशक टङ्क चौलागाईँबाट थाहा पाएदेखि नै पहिलो मञ्चन हेर्ने रहर थियो ।

तर, परिस्थिति त्यस्तै पर्यो, विभिन्न चुनौतीकाबीच अन्तिम साता बल्ल असार ९ गते हेर्न जुर्यो । नेपाली इतिहासकी पात्र योगमायाको साहसिक कार्यलाई सलाम छ।

तात्कालीन राणाशासन कालमा विविध चुनौतीका बीच अदम्य साहस बोकेर समाजका कुरीतिविरुद्ध प्रतिकार गर्न सक्नु एउटी शक्तिशाली नारीको रूप हो । नाटक हेर्नु अगावै सोचेका विविध विचारसँग मिल्दाजुल्दा दृश्यले सर्लक्क नाटकसँग दर्शकलाई जोडेको छ। योगमायाका वाणीहरूले मनलाई चसक्क पारेको महसुस भयो।

उनी भन्छिन्- “ब्राह्मणका छोरा वेद पढ्छन् र समाजमा भेद गर्छन्।” अर्की सहयोगी पात्रको उद्गार आउँछ- “यस्तै पुरुष वा लोग्नेलाई भगवान् मान्नुपर्छ भने हामी पनि भगवती देवी हुनुपर्छ” । हे अरुण, तिमी उर्लिएर आयौ, सबै बगायौ तर यहाँको कुरीतिलाई किन बगाएनौ ? कसैले छोएको खाँदैमा जात जाने र पाप लाग्ने हुदैन मेरो धर्ममा ।

योगमाया नाटकभित्र विविध सामाजिक विकृतिलाई देखाउने प्रयास गरिएको छ। उसबेला त जातभातमा प्रशस्त भेदभाव हुन्थ्यो। योगमाया जस्ती गाउँकी एउटी विधवाले उठाएको आवाज हरेक नेपालीको आवाज थियो। कुन्ठिएर आवाजविहीन भएर बाँचेका नेपालीको आवाजलाई राणा सरकारसम्म पुर्याउने कार्य योगमायाबाट हुनु ठूलो सत्कर्म मान्नुपर्छ।

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा योगमाया नाटक सीमान्तीकृतको पक्षमा देखिन्छ। महिलाहरूको नामकरणमा पक्षपात गर्नु, कमिनी ल्यायो भनेर समाजले तिरस्कार गर्नु, योगमायालाई जैसिनी भन्नु पण्डितले जे भन्यो त्यही मान्नुपर्ने, बाल विवाह, अनमेल विवाह, मर्दानाको मृत्युमा जनानालाई जिउँदै आगो लगाइनु आदि विविध कुरा त्यसभित्र देखिन्छ।

यिनै कुराको विरोधबाट योगमायाको क्रान्ति आरम्भ भएको छ। अत्यसम्म क्रान्तिकारी विचार बोकेर जलसमाधिमा समाप्त हुनुले योगमायालाई देशका लागि ठूलो बलिदान दिएको देखिन्छ । हामीले एकता र सचेतनाको पाठ सिक्न जरुरी छ योगमायाबाट ।

नीलम कार्कीद्वारा लिखित योगमाया उपन्यासलाई नाटकीकरण गरेर पाठक र दर्शकलाई जोड्ने नाटक निर्देशक टङ्क चौलागाईंको प्रयासलाई सलाम छ। बेजोड अभिनयको संयोजन र मिथिला शर्माको जीवन्त अभिनयले दर्शकको मन मनमा योगमायाको योगदानलाई सिञ्चन गरेको छ।

सबै कलाकारहरू अभिनयमा डुबेर यसरी नाटकलाई सजीव बनाउनु कलाकारिताको स्तरीयता मान्नुपर्छ। यस्तै विविध नाटकबाट समाजलाई चेतना दिने काम भइरहोस् ।