निहुँ खोज्छेस् ? ‘कमिनी बनाईदिम’ ?

कतिपय स्मृतिहरू मानसपटलमा यसरी जरा गाडेर बसेका हुन्छन् कि मानौँ ती पत्थरमा कोरिएका धर्साहरू हुन । अकाट्य र नामेट पार्न नसकिने तिता मिठा सम्झनाहरूको गुजुल्टो जति फुक्दै जान्छ त्यति लम्बिँदै पनि जादोरहेछ । कहिल्यै फुकाएर नसकिने अनगिन्ती सम्झनाहरू मध्ये केही सम्झनाहरू केही क्षणहरू कुनै कुनै नयाँ घटनाहरूको कारण आफसेआफ ताजा हुँदै जाने रहेछन् ।

भर्खरैको कुरा हो । गीतको लय जुधेको काण्डबाट सुरु भएको एउटा साधारण कलाकार बिचको झगडाले विकराल रूप लिँदै गइरहेको छ । जातीय सद्भाव नै बिगार्ने गरी सतहमा आएको यो झगडामा सर्वसाधारणदेखि सांसद सम्म सबै जोडिएका छन् । को ठिक र को बेठिक भन्ने मूल मुद्दामा प्रवेश गर्ने सोच कसैको देखिँदैन । केवल जातीय रूपमा मुद्दालाई हेरिदैछ ।

यी सबै झगडाहरू हेर्दै सुन्दै जाँदा म मेरै अतितको सुदूर स्मृतिमा हराइरहेको छु जहाँ एकजाना ‘कान्छो कामी” भन्ने गुमनाम पात्र सल्बलाइरहेको छ । जन आन्दोलन लगत्तैको त्यो क्रान्तिकारी परिवर्तनको समय । त्यो क्षेत्रका केही बाहुनहरू कम्युनिस्ट राजनीतिमा लागेर गाउँ फर्केका थिए अनि भर्खरै उनीहरूले देख्दै गरेको साम्यवादको व्यवहारिक प्रयोग इत्यादिको कारण कामी कान्छो बाहुन गाउँमा बसाइँ सरेको थियो । कामिगाउँमा बसुन्जेलको कामिकान्छो बाहुन गाउँमा सर्ने बित्तिकै ‘पोखरी मुनि कान्छो’ भएको थियो । हामी त्यस्तै दश बाह्र वर्षको हुँदा कान्छो पच्चिस अट्ठाइस वर्षको लक्का जवान थियो उसका दुई तिन वटा छोराछोरीहरू पनि थिए ।

हुन त त्यो गाउँका बाहुनहरू पनि उदार नै थिए । ‘मसाल बा’ भनेर चिनिने टिकाराम बाहुनले नै आफ्नो घर घडेरीमा कान्छालाई ल्याएर राखेर जातीय विभेद हटाउने कामको सुरुवात गरेका थिए । यसको मतलब लुसे कान्छो कामिगाउँबाट बाहुन गाउँमा बसाई सर्ने पहिलो दलित थियो । उसका छिमेकी बाहुनहरू कोही पल्टने लाहुरे थिए कोही स्थानीय नै भए पनि उदार थिए । कान्छा सँगसँगै बसेर खाने मात्र होइन रक्सीको ऐंचो पैंचो पनि चलाउँदथे । समय बित्दै गयो । पिपलको रुख छिमलेका एकजना बाहुनले त्यही दाउरा बालेर घरमै रक्सी पारेछन् । पिपलका दाउरा रक्सी पार्न सल्काइनु ठुलै पाप थियो उसको नजरमा त्यसमाथि बाहुनको घरमा त्यसो हुनु त प्रलयलाई निम्त्याउनु नै थियो । उसले दुखेसो पोख्यो तर कसैले सुनेन ।

लक्का जवान कान्छो त्यो गाउँको निर्बिकल्प सेवक थियो । खास गरी उ कुनै जिम्माल मुखियाहरूको घरमा बाली घरे भएन । उसले अलि निमुखा परिवारहरूलाई सहयोग गर्यो । लोग्ने घरमा नभएका भाउजूहरूको असारे मेलो कान्छाको प्राथमिकतामा पर्थे । अहिले अरबतिर सरेको युवा पलायन हुने गन्तव्य भारतीय सहरहरू थिए त्यो बेलामा । गाउँका अधिकांश युवा भारतीय सहरमा रोजगारीका लागि जान्थे । घरमा बुढा बा आमा र जवान श्रीमती छोडेर बिदेशिनु हाम्रो समाजको पुरानै प्रचलन हो ।

त्यसरी एक्लै घर धानेर बसेका महिलाहरूलाई ‘एक सरुवई’ या ‘एकसरे’ भन्ने चलन छ । एकसरे भएपछि महिलाहरू माइत गएर पनि रात बिताउन पाउदैनन । भैँसी एक हाते बानी परेको हुन्छ । अरू दुहुन बसे पग्रदैन । एक बुजो घाँस भकारोमा फ्यास्स फाल्दिने सहयोगी सम्म कोही नभएका निरीह भाउजूहरूको एक निर्बिकल्प सहयोगी थियो कान्छो ।

उसले ढ्याप्प ढाँम लगाएपछि जस्तो भैँसी पनि पग्रंथ्यो । बाल्टी छुने अधिकार नभएको कान्छोले भैँसी दुहुन चाहिँ हुन्थ्यो । उसले छुँदा कल्चौडो कसैको पनि नछोइने तर बाहिर निस्केको दूध छोइने । अचम्मको प्रचलनसँग परिचित थियो उ । बाल्टी भुईँमै राख्दिन लगाएर पनि उसले दुहिदिन्थ्यो भैँसी सरर सरर ।

अप्ठ्यारा रुख चढेर घाँस झारिदिनु, राती बाटो हिँड्न डराएकाहरूलाई गौंडो पारिसम्म छोड्न जानु र घर नपुगुन्जेल ख्याक्क ख्याक्क अहम अहम गरेर साथ दिनु उसका धर्मका काम थिए । भत्केको धनसारको गारो टाल्नु परे कान्छो, आटिमा जाने लिस्नु हाल्नुपरे कान्छो, भलै त्यो काम सकिएपछि उसले छुनै नहुने किन नहोस् तर कान्छो निर्बिकल्प सहयोगी थियो त्यहाँ । हुन त उसको आलोचना नभएको पनि कहाँ हो र । कतिपय हुर्कँदै गरेका बाहुनका बच्चाहरूमा कान्छाको रङ्ग खोज्ने चेष्टा नगरेका होइनन् केही फटाहाहरूले तर उसको धर्मले जित्यो कहीँ कसैले कुरा काटेपनि मुख फोरेर कोही बोल्न सकेनन् ।

रिसाउन कहिल्यै नजानेको पोखरीमुनि कान्छो ठेकेदार पनि थियो । कसैको घर बनाउन आवश्यक ढुङ्गाको जोहो गर्ने, काठ ओसार्ने, माटो मुछ्ने इत्यादि ठेक्का लिन्थ्यो । खेतका साना साना फोहोटा र बारीका इतुर्का सुर्का बिराएर खेतको खले गरो बनाउने र बारीको पाटो बनाउने ठेक्का पनि लिने गर्थ्यो उसले । त्यसरी खेत खन्दा माटो ओसार्न उनीहरूले भैँसीको छालाबाट बनेको एक किसिमको स्ट्रेचर आकारको खर्पन प्रयोग गर्थे । कुनै कुनै त बोरामा बाँस उनेर पनि बनाइएको हुन्थ्यो । तर बोराका माटो ओसार्ने भाँडा टिकाउ हुँदैनथे ।

समय बित्दै गयो माटो ओसार्ने आफै बनाएको खर्पनको ठाउँमा एक पाङ्ग्रे ट्रली आयो बजारमा । कान्छाले पनि त्यो किनेर ल्याएछ । हामी स्कुल पढ्थेम । स्कुलबाट फर्कँदा कान्छाको ट्रली लिएर दगुर्ने रमाइलो गर्ने र अन्तिममा लडाएर बिगार्दिने बाँदर जस्तै साथीहरूलाई कान्छाको ट्रली खेल्ने उत्तम साधन बनेको थियो, यो कुरा उसलाई थाहा थिएन ।

एक दिन स्कुलबाट फर्कँदा तितापानी मोती, म लगायत मोती कि छिमेकी दिदी जो बजार गएर फर्केकी थिइन हामी सँगै आउँदै थियौँ । बाटोमा कान्छाको ट्रली देख्यो मोतीले । उसले समातेर दौडाउन थालिहाल्यो । कान्छो त्यतै कतै छ भन्ने हामीलाई हेक्का भएन । मोतीले त्यो ट्रली कान्लाबाट लडाउनु र कान्छाले देख्नु सँगै पर्योछ । लौ पर्यो बित्यास अब । उताबाट कान्छो मुखमा भएका अपशब्द जति सबै होलसेलमा बोल्दै दौडँदै आइरहेको छ । यता कान्ला मुनि लडेर उत्तानो परेको ट्रली नजिकै मोती निरीह बनेर उभिएको छ । मोती कि दिदी अलि पर किन लडाईस ए मुर्दार अब कान्छाले मार्छ भनेर मोतीलाई सरापी रहेको छन्, म अब के हुनी हो भनेर थुरुरु कामिरहेको छु, हेर्दा हेर्दै कान्छाले मोतीलाई दाइने गालामा एक लपेटा बजायो र ट्रली उठाउन गयो, मोती रुन सकेन आँखाबाट आँसु बगायो र दिदीको मुखमा हेर्न थाल्यो।

यस अगाडि कामी कान्छो यसरी उग्र भएर रिसाएको कहिल्यै देखेको थिईन मैले । आज उत्पात रिसायो । धन्न त्यो घटना मेरो घरको नजिकै भइरहेको थियो । त्यही पनि मलाई भने झम्टने छैन भनेर म ढुक्क हुन सकिन । दुई कान्लामाथि चढेर मैले रमाइलो हेर्न थालेँ । भाइले पिटाई खाएको देखेर रन्थनिएकि ती दिदी कामी कान्छा सँग झगडा गर्न थालिन । कान्छाले अरू केही जवाफ फर्काएन । अलिकति वर सरेर तँलाई कामिनी बनाइदिम भनेर धम्क्यायो त्यति सुन्ने बित्तिकै ती दिदीले मोतीलाई अर्को झापड हानिन र ‘हिँड मर मुर्दार’ भनेर घिसार्दै तितापानी तिर लागिन ।

मैले त्यो बेलामा खासै कुरा बुझिन । ती दिदीहरू कुँवर जोगी थिए । कान्छाले कुँवरलाई कसरी कमिनी बनाइदिने होला ? यस्तै प्रश्न खेलाउँदै म पनि घर तिर निस्केको थिएँ । आफ्ना गाउँका महिलाहरूसँग त्यति प्रेम पूर्वक रहेको बसेको कान्छो आज अर्की उस्तै उमेरकी महिलासँग त्यति विधि रिसाएको मलाई मन परेको थिएन तर अहिले कारण बुझ्दै जाँदा भने कान्छो उग्र भएर रिसाउनु ठिकै पो रहेछ जस्तो लागिरहेको छ । उसको गरिखाने ट्रली हामीले भाँचिदिएका थियौँ उसले त्यही रिस पोखेको रहेछ ।

कथा धेरै लामो हुन गयो । आफ्नो मर्ममा प्रहार हुँदा रिस जसलाई पनि उठ्ने रहेछ तर अब अवस्था बदलिएको छ । त्यो समयमा त्यसरी जतिसुकै ठुलो झगडा गरे पनि भोलिपल्ट कान्छो हिजै झगडा गरेका विष्टहरूको गोरु तार्न पुगिसकेको हुन्थ्यो या कोही एकसरे छिमेकीको रुखमा चढेर घाँसका हाँगा झारिरहेको भेटिन्थ्यो । हिजोको झगडा हिजै सकिन्थ्यो आज सम्म लम्बिएपनि भोलि सम्म तन्कँदैनथ्यो । कान्छो केही दिन रिसाए विष्टहरूले नै फकाउँथे उ फकिन्थ्यो अनि झगडा साम्य हुन्थ्यो ।

यसरी फरक जातका मानिसबीच झगडा हुनु सामान्य कुरा हो । यस्ता झगडा हुनुलाई हाम्रो तिर ‘कल गर्नु’ या ‘कल पर्नु’ भन्छन् । भनाभन सम्मको स्थिति हुनु कल गर्नु हो त्यो भन्दा माथिको हात हालाहाल हुन्छ अनि त्यसभन्दा माथि मारामार भएको भनिन्छ, अचेल ग्याँङ फाईट भन्चन क्यारे १ अँ फेरि प्रसङ्ग अन्तै गयो, कल पर्थ्यो पहिला पहिला पनि दलित र बाहुनबीचमा पनि धेरै नै कल परेको, हात मिसामिस भएको र मारामार सम्म पुगेको मैले देखेको छु।

पहिला पहिलाको झगडाहरूमा पनि दलितले बाहुनलाई ‘तँलाई काँठा, टपरे तलाई काँमिको जेठान नबनाई छोड्दिन भनेर समेत दागा गर्थे । एक दिन खेतमा ट्रलीको मामलामा झगडा हुँदा पोखरीमुनि कान्छाले एक जना महिलालाई ‘कमिनी बनाईदिम’ ? भनेर धम्क्याएको मेरै कानले सुनेको हुँ । त्यो माथि उल्लेख भइसक्यो । त्यति बेला त्यो कुराको अर्थ मैले बुझ्दिनथें । अहिले बुझ्छु ।

बाहुनहरुपनि तलाई कामी, करेटो, इत्यादि भनेर सराप्थे । कल यसरी नै पर्थ्यो । तर बाहुनहरू कुनै कमिनी केटीलाई ‘बाहुनी बनाईदिम’ ? भनेर धम्क्याउन सक्दैनथे किनकी कुनै बाहुन दलितसँग सल्किए उ आफै दलित जातीमा पुग्छ । रेप गरे पनि कुरा उही हो कमिनीसँग बापत लाग्या बाहुन सोझै कामी हुने प्रचलन थियो । तर ती झगडाहरू आजको जस्तो लम्बिएर जाँदैनथे । आज झगडा गर्योग भोलि फेरि त्यै विष्टको खेतमा जोत्न जानै पर्थ्यो त्यही कामीको आरनमा नगई कामै चल्दैनथ्यो ।

अचेल सामाजिक सञ्जालमा लिखित झगडा हुन थाल्यो जुन बिर्सन धेरै गाह्रो हुन्छ । आज गरेको झगडा दशकपछि सम्म पनि रेकर्डमा रहन्छ । त्यो हेर्दै दुष्मनी बढाउँदै गर्नुको विकल्प केही रहँदैन यसरी सामाजिक सञ्जालमा अपशब्द बोल्दा लेख्दा हामी सबैले बिचार पुर्याउनुपर्ने कुरा त्यही हो । जे भए पनि गर्नै परे आज झगडा गरौँ तर भोलि सम्म त्यसलाई लम्ब्याएर लैजान हुँदैन । हामी सहनशील हुनुपर्छ पोखरी मुनि कान्छो दाइ जस्तै । आज धेरै समय पश्चात मलाई हाम्रा पोखरी मुनि कान्छा दाईको सम्झना आयो । कोही मेरा छिमेकीले यो कथा पढे उनलाई सुनाइदिनु र मास्टर दुर्गाले सम्झिरहेछन् भनिदिनु ।

दुर्गा पंगेनी