मोदीको विदेश नीतिमा जयशंकर फ्याक्टर–२

दुस्यन्त दाहाल ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री बनेपछि सुब्रमन्यम जयशंकरको महत्व भारतीय राजनीतिमा झनै बढेको छ । लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतसँगै दोस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले केही यस्ता निर्णय लिए, जसको भारतीय राजनीतिमा दूरगामी प्रभाव देखिने अनुमान गरिएको छ । ती निर्णयहरु मध्येको एक थियो, विदेशमन्त्रीका रुपमा जयशंकरको नियुक्ति ।

अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी गरेका जयशंकर भारतमा सन् १९७७ को ब्याचका आईएफएस अधिकृत हुन् । कूटनीतिक मामिलामा खारिएका उनी तत्कालै राष्ट्रको हितमा उचित निर्णय लिनसक्ने क्षमता राख्छन् । जयशंकरको दक्षता विशेषगरि आणविक कूटनीतिमा रहेको छ ।

दुईवर्ष अघि भारतको विदेश सचिवको हैसियतमा जयशंकरले चीनसँगको दोक्लाम विवादको कूटनीतिक हल निकाल्न महत्वपुर्ण भुमिका खेलेका थिए । दोक्लाममा दुई आणविक सम्पन्न मुलुकबीच बढेको तनावले विश्व राजनीतिमा हलचल ल्याइदिएको थियो । यस्तोमा जयशंकरको कूटनीतिक अवतरणले काम गर्यो र दुबै मुलुक युद्धकोस्थितिबाट पछि हटे । दुई मुलुकबीचको वार्तामा भारतका तर्फबाट जयशंकर आफैं सहभागि थिए ।

आफ्नो पहिलो कार्यकालको अन्तिम वर्षदेखि प्रधानमन्त्री मोदीले जयशंकरलाई छाडेका छैनन् । यो वेला देखि मोदी जतिपनि विदेश भ्रमणमा गए, जयशंकर उनको साथै छन् । दोस्रो कार्यकालमा पनि मोदीले विदेशमन्त्री जयशंकरलाई आफ्नो विदेश भ्रमणमा साथै लगिरहेका छन् । अचम्म त के भने, आफ्नो पहिलो कार्यकालमा ४० भन्दा बढी देशको भ्रमण गरेका मोदीले आफ्नी तत्कालिन विदेशमन्त्री शुष्मा स्वराजलाई कुनैपनि विदेश भ्रमणमासँगै लगेनन् । तर दुई महिनाअघि दोस्रो कार्यकाल शुरु गरेपछि चार देशको भ्रमण गरिसकेका मोदीले चारै देशमा जयशंकरलाई संगै लिएर गएका छन् । यसबाट पनि मोदीको विदेश नीतिमा ‘जयशंकर फ्याक्टर’ कति महत्वपूर्ण छ भन्ने कुरा प्रष्ट हुन्छ ।

जयशंकरको पारिवारिक पृष्ठभुमि
जयशंकर कृष्णस्वामी सुब्रमन्यमका छोरा हुन् । के सुब्रमन्यम कुनैबेला भारतका प्रमुख अन्तर्राष्ट्रिय रणनीतिक विश्लेषक मानिन्थे । के सुब्रमन्यमले भारतको रणनीतिक सुरक्षा र कूटनीतिका विषयमा एक दर्जन भन्दा बढी पुस्तक लेखेका छन् । मनमोहन सिंह सरकारको दोस्रो कार्यकालमा के सुब्रमन्यमले भारतका तर्फबाट आणविक रणनीति बनाउन प्रमुख भूमिका खेलेका थिए ।

यस्तो कूटनीतिक परिवारमा जन्मिएका जयशंकर अहिले आएर आफैं पनि भारतको विदेश नीतिका प्रमुख योजनाकार बनेका छन् । मोदीको वर्तमान क्याविनेटमा जयशंकर सामेल हुनुलाई यो मन्त्रीमण्डलकै खास कुरा भएको भारतका वरिष्ठ सञ्चारकर्मी राजदीप सरदेसाईले बताएका छन् ।

मोदीले जयशंकरलाई एउटा ठूलो जिम्मेवारी दिएर आफ्नो क्याबिनेटमा ल्याएका हुन् । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनसँगको सन्तुलनको सम्बन्ध यतिवेला भारतको सबैभन्दा महत्वपूर्ण विदेश नीतिको रुपमा अघि आएको छ । जयशंकरले यो सम्बन्धलाई भारतको हितमा अघि बढाउने मोदीको विश्वास छ ।

जयशंकरको नेपाल सम्बन्ध
नेपालले वि.सं. २०७२ मा संविधान जारी गर्नुअघि एस जयशंकर नेपाली राजनीतिमा खासै परिचित नाम थिएन । नेपालले संविधान सभाबाट निर्मित ऐतिहासिक संविधान जारी गर्नै लाग्दा भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा जयशंकरको आगमन काठमाडौंमा भएको थियो । मोदीको सन्देश लिएर आएका जयशंकरले नेपालले संविधान जारी गर्न तत्काल रोक्नुपर्ने बताएका थिए ।

संविधान जारी गर्न ठिक्क परेका नेपालका राजनीतिक दलका शिर्ष नेताहरु मोदीको सन्देशले स्तब्ध त बने तर त्यसलाई लत्याउने तत्काल निर्णयमा पुगे । जयशंकरले भारतको विदेश सचिवको हैसियतमा निर्धारित समयमा संविधान जारी नगर्न र मधेशी समुदायलाई साथै लिएर अघि बढ्न सुझाएका थिए । तर उनले चाहेजस्तो केही पनि भएन ।

त्यो बेला जयशंकरको संविधान रोक्ने प्रस्ताव नेपालका सबै पार्टीका शिर्ष नेताले अस्वीकार गरेका थिए । यतिसम्मकी जयशंकर दुई रात नेपाल छँदा सबै शिर्ष नेताका घर–घर पुगेका थिए । तर निराशाका साथ जयशंकर दिल्ली फर्कनुपरेको थियो ।

नेपालको शिर्ष राजनीतिक नेतृत्वले दिल्लीको कुरा नसुनि केही दिनपछि संविधान जारी गर्यो । त्यसको बदलामा भारतले नेपालमाथी अघोषित रुपमा झण्डै ६ महिना नाकाबन्दी लगायो । चार वर्षअघि भारतले यस्तो निर्णय गरिरहँदा अहिलेका विदेशमन्त्री जयशंकर विदेश सचिव थिए ।

यसैकारण नेपाली राजनीति फेरि एकपटक जयशंकरको नियुक्तिसँगै झस्किएको हो । तर, कूटनीतिमा धेरै कुरा ‘स्थितिजन्य’ हुन्छ । तत्कालिन अवस्थामा जुन स्थितिमा ‘नाकाबन्दी’ लगाउने निर्णयमा दिल्ली पुगेको थियो, अहिले दुई देशबीच त्यो स्थिति छैन । द्धिपक्षिय सम्बन्ध सामान्यिकरण भइसकेको छ । त्यसैले जयशंकरले अब पनि नेपाललाई त्यही आँखाले हेर्छन् भन्नु मुर्खपुर्ण तर्क हुनेछ ।

नाकाबन्दीपछिको चार वर्षमा नेपाल र भारतबाट शिर्ष तहमै पटक–पटक द्धिपक्षिय भ्रमणहरु भइसकेका छन् । शिर्ष नेतृत्व तहबाट भ्रमणका क्रममा गरिएका निर्णयहरुलाई संस्थागत गर्नु विदेशमन्त्री जयशंकरको पनि जिम्मेवारी हो । त्यसैले ‘छिमेकी पहिलो’ भन्ने मोदीको विदेश नीतिलाई सार्थक बनाउन विदेशमन्त्रीका रुपमा जयशंकरको पनि त्यतिकै दायित्व छ ।

मोदीको विदेश नीतिमा जयशंकर फ्याक्टर – १