रवि लामिछानेलाई राजीनामा गराएरै छाड्ने मुडमा कांग्रेस, ईपीएसको नतिजा सार्वजनिक[भिडियाेसहित]

रवि लामिछानेलाई राजीनामा गराएरै छाड्ने मुडमा कांग्रेस, ईपीएसको नतिजा सार्वजनिक[भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

प्रतिनिधि सभा बैठकको पहिलो दिन अवरुद्ध
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठकको बजेट अधिवेशनको पहिलो दिनको बैठक नै अवरुद्ध भएको छ । शुक्रबार दिउँसो ढिला गरी सुरू भएको बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरुद्ध गरिरहने अडान राखेका थिए । गृहमन्त्रीमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेको उनको भनाई थियो । त्यसपछि कांग्रेसका सांसदले ‘संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’लगायत नारालाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक पछि बस्न नसकेको हो ।

क्रिकेटर सन्दीप लामिछानेलाई फसाउन विदेशी शक्ति लाग्योः सांसद डा.सुनिल शर्मा
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले क्रिकेटर सन्दीप लामिछानेलाई फसाउन विदेशी शक्ति नै लागेको दाबी गरेका छन् । सन्दीप लामिछाने आजको टीम भएको भए नेपाल विश्वकपको सम्भवत् सेमिफाइनल, फाइनलमा पुग्नसक्ने बताएका सांसद शर्माले उनलाई रोक्न विश्व क्रिकेटका महाशक्ति भारत, पाकिस्तान, अष्ट्रेलियालगायतको शक्ति नै परिचालन भएको टिप्पणी गरेका हुन् । सन्दीप दोषी छन् भने ८ वर्ष होइन, १६ वर्ष जेल सजाय तोकिनुपर्ने र होइन भने एक घण्टा पनि यसरी मानसिक यातना दिएर राख्नु नहुने उनको भनाई छ ।

सत्ता समीकरण फेरिएपछि कांग्रेसले झड्का खायोः एमाले
नेकपा एमालेले फागुन २१ गते सत्ता समीकरण फेरिएपछि झड्का लागेर कांग्रेसले नचाहिँदो कुरा उठाएको टिप्पणी गरेका छन् । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउन माग गर्दै सदन अवरोध गरेपछि एमालेका सचिव योगेश भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । कांग्रसले सदन चल्न नदिने बताए पनि नीति तथा कार्यक्रम र बजेट ल्याउने सरकारसँग विकल्प रहेको उनको भनाई छ । छानविन समिति बनाउन माओवादी केन्द्रले पनि अस्विकार गरेको छ ।

सर्वोच्चले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गर्यो
सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्कीले उक्त नियुक्त बदर माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएको हो । संवैधानिक व्याख्याको विषय भएकाले उक्त विवादको टुंगो पूर्ण सुनुवाइबाट लाग्ने भएकाले अन्तरिम आदेश आवश्यक नरहेको आदेशमा भनिएको छ। योसँगै कोशी सरकार तत्काललाई सुरक्षित भएको छ ।

जसपा फुटे पनि सरकारलाई कुनै असर हुन्नः उपेन्द्र यादव
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन् । ‘हामी स्थिर सरकारका पक्षमा छौँ । हामीले सरकारलाई दिएको समर्थन जारी छ, हाम्रो कारणले सरकार ढल्दैन, हामी सरकार ढाल्ने खेलमा लाग्दैनौँ।’ उनको भनाई छ । उनले पार्टी फुटाएको विषयमा सर्वोच्च अदालतमा न्यायका लागि जाने पनि दोहोर्याए ।

मधेश प्रदेशमा सरोज कुमार यादव नेतृत्वको सरकार तत्काल सुरक्षित
मधेश प्रदेशमा जसपा नेपाल अर्थात् सरोज कुमार यादव नेतृत्वको सरकार तत्काल सुरक्षित बनेको छ । जसपा नेपाल विभाजन भएपछि मुख्यमन्त्री यादव संस्थान पक्षमै रहने जनाएका छन् । साथै,एमाले नेतृत्वको निर्देशनपछि नेता यादवले तत्काल सरकारको विकल्प नसोच्ने बताएपछि माओवादी पनि पछि हटेको छ । अहिलेको राजनीतिक परिस्थिति हेर्दा तत्काल वर्तमान सत्ता गठबन्धनको मधेश सरकार सुरक्षित बनेको छ ।

अमेरिका र क्यानडा पठाउने भन्दै बन्धक बनाएको आरोपमा प्रहरीले तीन जना पक्राउ
अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्याएर नौ महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन् । उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । यो समूहले १० जना युवालाई अमेरिका पठाउने भन्दै साढे पाँच करोड रुपैयाँ लिएर केन्या पु¥याएर बन्धक बनाएको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

नेपाल एयरलाइन्सले इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गर्यो
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेकोे छ । उनका अनुसार समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)मा मर्मत सम्भार गर्न पठाइएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवं अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

स्रोत नखुलेको ९८ लाख नेपाली रकमसहित दुई जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको ९८ लाख नेपाली रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र सोही स्थान बस्ने २९ वर्षीय मिलन बिक रहेका छन् । मिलन वि.क. यसअघि २०८० अशोज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको छ भने सम्पती शुद्धिकरणमा समेत मुद्दा अनुसन्धानमा रहेको खुल्न आएको छ ।

कोरियन भाषा परीक्षाः दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले गत वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको हो । दोस्रो चरणको लागि छनोट भएका ६ हजार ३२१ जनामध्ये पाँच हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका छन् । भने ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको ३३/११ केभी सबस्टेशन सञ्चालनमा
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको ३३/११ केभी सबस्टेशन सञ्चालनमा आएको छ । २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेशन सञ्चालनमा आएको हो । देवनगर सबस्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार वटा फिडर रहेका छन् । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे नौ करोड रुपैयाँ रहेको जनाइएको छ ।

भ्रष्टाचार आरोपमा पक्राउ परेका अरविन्द केजरीवाल रिहा
भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रिहा भएका छन् । शुक्रबार भारतको सर्वोच्च अदालतले केजरीवाललाई अन्तरिम १ जुनसम्मका लागि जमानतमा रिहा गर्न आदेश दिएको हो ।साथै दिल्लीमा २५ मेमा हुन लागेको लोकसभा चुनावमा उनले प्रचारप्रसार समेत गर्न पाउनेछन् । तर, २ जुनमा उनलाई आत्मसमर्पण गर्न समेत भनेको छ । केजरीवाल रिहा भएसँगै उनलाई दिल्लीको सरकारी कामकाजमा कुनै हेरफेर नगर्न समेत सर्वोच्चले आदेश दिएको छ ।

विश्वकप अघि अमेरिकामा नेपालले खेल्ने मैत्रीपूर्ण खेलको तालिका सार्वजनिक
टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने छ । त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ मे सम्म रहने जानकारी दिएको छ । त्यसपछि नेपाली क्रिकेट टिम फेरी अमेरिकाको हस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघि अभ्यास खेल खेल्ने भएको छ ।

Logo