प्रोटोनको भक्तपुरमा फ्ल्यागशिप थ्रीएस स्टोरसहित ११ शोरुम सञ्चालनमा, बिर्तामोडमा पनि चाँडै

प्रोटोनको भक्तपुरमा फ्ल्यागशिप थ्रीएस स्टोरसहित ११ शोरुम सञ्चालनमा, बिर्तामोडमा पनि चाँडै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले प्रोटोन ई मास फाइभ विद्युतीय सवारीको औपचारिक सार्वजनिकीसँगै भक्तपुरको राधेराधेमा अत्याधुनिक सुविधासम्पन्न एकीकृत थ्रीएस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्टस) फ्ल्यागशिप स्टोरको उद्घाटन गरेको छ ।

भक्तपुर शाखासँगै जगदम्बा मोटर्सले आगामी हप्तादेखि वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा समेत नयाँ शोरुम सञ्चालनमा ल्याउने घोषणा गरेको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ स्थानबाट सेवा प्रवाह गर्दै आएको थियो । नयाँ विस्तारपछि देशभर प्रोटोनका ११ वटा पूर्ण शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा आउनेछन् । साथै, आगामी दशैंसम्म बिर्तामोडमा थप एक शाखा खोल्दै सञ्जाल १२ वटा पुर्याउने कम्पनीको योजना छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका प्रतिनिधिले ग्राहकप्रतिको प्रतिबद्धता दोहोर्‍याए । “हाम्रो ग्राहकप्रतिको प्रतिबद्धता अत्यन्त सुदृढ छ । पूर्वदेखि पश्चिमसम्म सबै प्रमुख सहरहरूमा प्रोटोनको सेल्स तथा सर्भिस नेटवर्क उपलब्ध गराउने छौं,” उनले भने, “हाम्रा ग्राहकहरूले जगदम्बा मोटर्स र शंकर ग्रुपको विश्वासका साथ प्रोटोन ब्रान्ड खरिद गर्न सक्नुहुनेछ । प्रोटोनलाई नेपालमा ग्राहकको सर्वाधिक रोजाइ तथा विश्वासप्राप्त ब्रान्ड बनाउने हाम्रो लक्ष्य हो ।”

कार्यक्रममा प्रोटोन इन्टरनेसनल कर्पोरेट कर्पोरेशनका उपनिर्देशक ली जादानले जगदम्बा मोटर्सको यस उपलब्धिप्रति बधाई ज्ञापन गरे । उनले भक्तपुरको फ्ल्यागशिप स्टोरलाई नेपालभरिका प्रोटोन आउटलेटहरूका लागि राष्ट्रिय तालिम मापदण्डको रूपमा विकास गरिने पनि बताए ।

“यो थ्रीएस स्टोर हाम्रो ग्राहक सेवा प्रणालीमा क्रान्तिकारी स्तरोन्नति हो । बिक्री, मर्मतसम्भार र स्पेयर पार्टस् सबै एउटै छानामुनि उपलब्ध छन् । यहाँ हाम्रो पूर्ण ईभी लाइनअपको प्रदर्शनी कक्ष, कारखाना प्रमाणित उच्च भोल्टेज डायग्नोस्टिक उपकरणले सुसज्जित व्यावसायिक कार्यशाला र ग्राहकको प्रतीक्षा अवधि न्यूनीकरण गर्ने सम्पूर्ण मौलिक स्पेयर पार्टस्को भण्डारण रहेको छ,” उनले स्पष्ट पारे ।

जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डको आधिकारिक वितरण गर्दै आएको छ । मलेसियाको राष्ट्रिय सवारी ब्रान्ड प्रोटोनले सन् २०१७ मा जीलीसँगको रणनीतिक साझेदारीपश्चात् अन्तर्राष्ट्रिय विस्तारलाई तीव्रता दिएको थियो । हाल प्रोटोन ई मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको छ । लीका अनुसार नेपाल दक्षिण एसियाली बजारमा प्रोटोनको प्रमुख रणनीतिक केन्द्र हो ।

Logo