बेलायतमा इक्यान टोली र राजदूत सुवेदीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को टोलीले बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीसँग भेट गरेको छ । भेटका क्रममा नेपाली विद्यार्थी र बेलायती शिक्षाबारे छलफल गरिएको इक्यान महासचिव शेषराज भट्टराईले जानकारी दिए ।

भेटका क्रममा राजदूत सुवेदीले आगामी दिनमा इक्यानसँग सहकार्य गरेर शिक्षाका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । बेलायत आउने नेपाली विद्यार्थीलाई आइपर्ने अवसर र चूनौती र आगामी दिनमा इक्यानसँगको सहकार्यमा अगाडि बढ्ने विषयमा छलफल भएको महासचिव भट्टराईको भनाई छ ।

सोही क्रममा राजदूत सुवेदीले नेपाली विद्यार्थीहरु बेलायत आउने मात्रै नभइ बेलायतबाट विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययनका लागि लैजान इक्यानसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा चासो व्यक्त गरेका थिए ।

ब्रिटिस काउन्सिलको आयोजनामा बेलायत पुगेको इक्यानको टोलीले राजदूतसँग झण्डै डेढ घण्टा छलफल गरेको थियो । बेलायत भ्रमणमा रहेको इक्यानको टोलीले त्यहाँ रहेको विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गरी नेपाली विद्यार्थीका लागि सहज वतावरण बनाउने विषयमा छलफल गरिरहेको छ ।

टोलीले सोमबार हर्टफोर्डसायर विश्वविद्यालयमा पुगेर त्यहाँका प्रतिनिधिसँग र मंगलबार क्याम्ब्रिज विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गरेको थियो । उच्च शिक्षा अध्ययनका लागि नेपालबाट हालसम्म डेढ लाख नेपाली विद्यार्थी छन् ।