नेपालको जलविद्युत, पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई ढकालको आग्रह

नेपालको जलविद्युत, पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई ढकालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायीलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाल र भारतका उद्योगी व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानि गर्न आह्वान गर्नुभएको छ ।

अन्तरक्रियामा उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी-व्यवसायीको उपस्थिति थियो । ढकालले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्रको बीचमा रहेको हुनाले नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको बताए । 

“हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन्,” उनले भने ।

ढकालले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न आग्रह गरे । 

उनले भने, “यस भ्रमण दलका प्रतिनिधिहरुबाट नयाँ स्तरको सहकार्यको थालनी गरेर व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रयास गरौं । सबैजना सदस्यले एकएक वटा व्यवसायमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरौँ । नेपाल र भारतबीच व्यापारिक सम्बन्धको प्रचुर सम्भावना छ । भ्रमण दलका प्रतिनिधि र नेपाली व्यापारी समुदायबीचको आजको अन्तरक्रियाले व्यावसायिक सहयोग मूर्त परियोजनामा परिणत हुनेमा म विश्वस्त छु ।” 

नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एक अर्काको फाइदा लिन सक्ने ढकालको विश्वास थियो । 

“नेपाली निजी क्षेत्र सधैं झैं भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ । हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौं,” ढकालले बताए ।

Logo