सेनामा अब १६ वर्षमै निवृत्तिभरण, नियमावली संशोधनमा कानुन र अर्थ मन्त्रालयको स्वीकृति

सेनामा अब १६ वर्षमै निवृत्तिभरण, नियमावली संशोधनमा कानुन र अर्थ मन्त्रालयको स्वीकृति


काठमाडौं ।

१६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो ।

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम (२) संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको छ । पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यस्तै, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ । सहायक सेनानी र सोभन्दा माथिल्लो पदमा कार्यरत सैनिक अधिकृतको हकमा निवृत्तिभरण अवधि २० वर्ष नै हुनेछ ।

रक्षा मन्त्रालयका सचिव रश्मिराज पाण्डेले सैनिक संशोधित नियमावलीमा सेनाको निवृत्तिभरण अवधि परिवर्तन भएको बताए । ‘सैनिक सेवा नियमावली संशोधन हुने प्रक्रियामा छ । अर्थ मन्त्रालयले त्यसलाई स्वीकृति दिइसकेको छ । जस अनुसार सिपाही र फलोअर्सको निवृत्तिभरण अवधि १६ वर्ष कायम गरिएको छ,’ उनले भने, ‘यो प्रक्रियामै छ । कानुनी मान्यता पाउन समय लाग्छ । हामीले कानुन मन्त्रालयमा स्वीकृतिका लागि पठाएका थियौँ । त्यसपछि अर्थमा पुग्यो । त्यहाँबाट पनि स्वीकृति पाइएको छ ।’ कानुन मन्त्रालयले गत १९ पुसमै रक्षालाई संशोधनका लागि सहमति दिएको थियो । त्यसलगत्तै रक्षाले अर्थमा पठाएको थियो ।

अर्थबाट स्वीकृत नयाँ नियमावलीमा भनिएको छ, ‘संवत् ०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना हुने सैनिक व्यक्तिले देहाय बमोजिमको अवधिभन्दा बढी र अवधिसम्म सेनामा सेवा गरेपछि सम्बन्धित विभागीय प्रमुखको स्वीकृतिमा सेवाबाट स्वेच्छिक अवकाश लिन निवृत्तिभरण पाउनेछन् । सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म २० वर्ष, सुबेदार र प्रमुख सुबेदार १९ वर्ष, जमदार १८ वर्ष, पिउठ, अमल्दार र हुद्दा १७ वर्ष, फलोअर्स र सिपाही १६ वर्ष ।’

अहिले सेनामा सैनिक सेवा नियमावली, २०६९ ले व्यवस्था गरेअनुसार निवृत्तिभरण हुने व्यवस्था छ । नियमावलीको नियम ८० को उपनियम (२) अनुसार २८ वैशाख ०६० यता भर्ना भएका सैनिक कर्मचारीको हकमा निवृत्तिभरण अवधि जुनसुकै पदमा कार्यरत भए पनि २० वर्ष नै कायम गरिएको थियो ।नयाँ पत्रिकाबाट

Logo