‘भारत गौरव पर्यटक रेल’ धार्मिकयात्रा स्थगन

‘भारत गौरव पर्यटक रेल’ धार्मिकयात्रा स्थगन

केन्द्रबिन्दु
0
Shares

भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ । 

भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो रेलमार्फत हुने जनकपुरधामको धार्मिकयात्रा अन्तिम समयमा प्राविधिक कारण देखाउँदै भारतीय रेल्वे कम्पनीले स्थगन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले जानकारी दिए । जयनगर–कुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि दोस्रोपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आज दिउँसो जनकपुरधाम आउने कार्यक्रम थियो । 

भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधाम सम्मको यात्रा गराउने सो रेलमा लक्ष्यनुसारको टिकट बिक्री नभएको लगायतका प्राविधिक कारण देखाउँदै सोबाट हुने भनिएको जनकपुरधामको धार्मिकयात्रा भारतीय रेल्वे कम्पनीले स्थगन गरेको महाप्रबन्धक झाले बताए । “पहिलोपटक जस्तै दोस्रोपटक पनि भारत गौरव पर्यटक रेल ठूलो सङ्ख्यामा भारतीय पर्यटकलाई लिएर आउने खबरले हामी उत्साहित थियौं”, झाले भने, “तर अचानक यात्रा स्थगन भएको खबर पाएपछि दुःख लागेको छ ।” 

भारतीय पर्यटकको धार्मिक यात्राले जनकपुरधामको धार्मिक, सांस्कृति र आर्थिक विकासमा टेवा पुगिरहेकाले यस्तै प्रकारको धार्मिक यात्राका लागि निरन्तर पहल जारी राख्ने उनको भनाइ थियो । रामायण सर्किटमा सञ्चालन हुने उक्त ‘भारत गौरव पर्यटक रेल’ सेवामार्फत पहिलोपटक गत असार ९ गते करिब ६ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको थियो । सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलमजस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने छ ।

Logo