लगातार दोस्रो वर्ष नेपालको मानव विकास सूचकाङ्कमा गिरावट आएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको पछिल्लो मानव विकास सूचकाङ्कमा नेपालको मानव विकास सूचकाङ्क लगातार दोस्रो वर्ष खस्किएको उल्लेख गरिएको छ । सो प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ०.६०२ रहेको छ ।
सन् २०१९ मा ०.६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ०.६०४ थियो । २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ०.६०१ थियो । दक्षिण एसियाली मुलुक नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क दुवै वर्ष घटेको छ । पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क २०२० मा घटेको भए पनि अहिले सुधार आएको छ । श्रीलङ्का र बङ्गलादेशको मानव विकास सूचकाङ्क भने दुवै वर्ष बढेको छ । प्रतिवेदनमा भुटान १२७औँ, बंगलादेश १२९औँ, भारत १३२औँ र नेपाल १४३औँ स्थानमा छन् । संकटका कारण विश्वभर चिन्ताको विषय बनेको श्रीलंका भने यस सूचकाङ्कमा नौ स्थानले वृद्धि भएर ७३औँ स्थानमा पुगेको छ ।
प्रतिवेदनका अनुसार जलवायु प्रकोपले विश्व व्यवस्थालाई असर पार्दै विगत केही वर्षमा हासिल भएको वृद्धिलाई रोकिरहेको छ । जलवायु प्रकोपका उदाहरणका रूपमा प्रतिवेदनले अफगानिस्तान, बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी नौ दक्षिण एसियाली मुलुकका प्राकृतिक प्रकोपलाई उद्धृत गरेको छ। तीमध्ये मात्रै पाकिस्तान र अफगानिस्तान मानव विकासको हिसाबले तल्लो श्रेणी (१८० औं स्थान) मा परेका छन्। यो सूचीमा पहिलो स्थानमा स्वीट्जरल्याण्ड, दोस्रोमा नर्वे र तेस्रोमा आइसल्याण्ड रहेका छन् भने भुटान, बंगलादेश, भारत र नेपाल मध्यम श्रेणीमा परेका छन् ।
मानव विकास सूचकाङ्कमा गिरावट प्रायःजसो सबै मुलुकमा देखिएको छ । प्रतिवेदनमा समावेश भएका मुलुकमध्ये ९० प्रतिशतको मानव विकास सूचकाङ्क सन् २०२० र २०२१ मध्ये एक वर्ष घटेको छ भने ४० प्रतिशत मुुलुकको दुवै वर्ष घटेको छ । ल्याटिन अमेरिकी, क्यारेबियाली, उपसाहारा अफ्रिका र दक्षिण एसिया सबैभन्दा बढी प्रभावित देखिएका छन् ।
समस्यासँग जुध्न नसके झन् खराब, अभाव र अन्यायको स्थितिमा धकेलिने चेतावनी यूएनडीपीले दिएको छ । यो प्रतिवेदनले कोभिड–१९ र युक्रेन युद्धका कारण विगतका दुई वर्ष विश्वका अर्बौं मानिसको जीवनलाई प्रभाव पारेको उल्लेख गरेको छ ।





























प्रतिक्रिया