महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।
मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पु-याउन आवश्यक रहेको बताए । उनले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए । आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो ।
अध्यक्ष पुनले देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताए । उनले आविष्कार केन्द्रहरुलाई उच्च प्राथमिकता नदिने हो भने देशको उन्नती कहिल्यै नहुने दाबी गरे । हाईवे, एयरपोर्ट र विश्वविद्यालय मात्रै खोलेर देशको अर्थतन्त्र सुधार हुन नसक्ने उनले बताए ।
कार्यक्रममा ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताए । उनले दक्षिण एशियामा विकासको ठूलो नारा दिएपनि सबैभन्दा गरिब मुलुकमा स्थपित रहेको दाबी गरे । उनले विकासप्रति चिन्तनशील हुन जरुरी रहेको बताए ।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।





























प्रतिक्रिया