सरोकारवालाहरुले बलात्कारको घटनामा उजुरी दिने हदम्याद बढाइनु अवैज्ञानिक भएको धारणा राखेका छन् ।
मंगलवार सार्वजनिक प्रतिरक्षक समाज नेपालले आयोजना गरेको ‘बालबालिका तथा विपन्न वर्गको न्यायमा पहुँचः समाजशास्त्रिय दृष्टीकोण’ विषयक अन्तरक्रियामा बोल्दै पूर्वसरकारी वकिल तथा हाल कानून विषयमा प्रध्यापनरत राम घिमिरेले बलात्कारको घटनामा हदम्याद बढाइनु अवैज्ञानिक भएको बताएका हुन् ।
उनले कसैले माग गरेको भरमा राजनीतिक तहले झुकेर हदम्याद बढाउनु नहुने तर्क गरे । उनले हदम्याद क्षमता, पहुँच र अवसर नभएकाहरुका लागि हुनुपर्ने भएपनि पहुँच हुनेहरुले नै दुरुपयोग गरेको उल्लेख गरे । हदम्याद बढाइएका कारण निश्चित मानिसहरु अन्यायमा परेको उनको भनाई छ ।
उनले भने, ‘अस्ति भर्खर हामीले देख्यौँ माईतीघरमा बोलिदिएपछि हाम्रो राजनीतिक संरचना त्यसैत्यसै झुकेर हद म्याद बढाइदियो । त्यसले के गर्ने हो त ? हदम्यादको कुरा भनेको त क्षमता नभएको, पहुँच नभएको, अवसर प्राप्त नभएकोलाई दिनलाई बोलाउने हो नि । सबै कुराहरुको उहाँले शोषण गर्नुहुन्छ । सबै कुरामा पहुँच छ । सबै कुरामा क्षमता छ । फेरि दुई वर्ष, तीन वर्ष भन्दा के प्राप्त हुन्छ त ? यसलाई वैज्ञानिक गर्नु पर्दैन ? निशर्त राखिदिने हो ? अनुसन्धान गर्ने बेलामा लिँदाखेरी त्यो कुराको साक्षि वास्तविकता के हो ? यिनी मान्छे जो मुद्दा लिएर आएका छन् । जाहेरी लिएर आएका छन् । यिनको हैसियत के हो ? समस्यामा परेका थिए कि ? भोजपुरको सीता राईको मुद्दाबाट आएको विषय हो नि त यो । नाबालिका पेट बोकेर अरबबाट फर्किएको समस्या हो नि त । तर त्यो समस्या अर्कोको पनि त्यस्तै हो कि हैन भनेर हामीले हेरेनौँ, हदम्यादै बढाइदियौँ । विषयको इन्ड हुनुपर्छ । कहिले इन्ड हुने त अब ? यस्तो खालको हामी त्यसै हाम फाल्दा निश्चित प्रकारका मान्छेहरु अन्यायमा पर्न गए र मिसक्यारिज भए भन्ने कुरो यहाँ देखियो ।’
घिमिरेले कसैले जाहेरी लिएर आएमा पहिले जाहेरीको सत्य, तथ्य बुझेर मात्रै दर्ता गर्नुपर्ने बताए । जाहेरी दिए बापत सजाय नहुने र पक्राउ गरिहाल्नुपर्ने भएको हुँदा झुटो जाहेरी आउने गरेको उनको भनाई छ ।





























प्रतिक्रिया