कर्णालीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुग्यो, २० बेपत्ता

कर्णालीमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुग्यो, २० बेपत्ता

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशभर बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३५ पुगेको छ । 

सबैभन्दा धेरै जुम्लामा नौ जना, मुगुमा आठ, कालिकोट र हुम्लामा चार-चार र जाजरकोटमा तीनको मृत्यु भएको छ । डोल्पा र सल्यानमा दुई-दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २० जना अझै बेपत्ता भएको र उनीहरूको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए । 

बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० जना रहेका छन् । बाढी पहिरोका कारण सबैभन्दा बढि क्षति कालिकोटमा पुगेको छ । अझैपनि कालिकोटका विभिन्न २४ ठाउँका सडक अवरुद्ध रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । तिलागुफा–४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १२ जना अझै बेपत्ता छन् । 

पहिरो तिलानदिमा मिसिएकाले बेपत्ताहरु भेटिने सम्भावना न्युन रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको भनाई छ । कालिकोट र दैलेखमा सबैभन्दा बढि सडक खण्ड अवरुद्ध भएको हो । दैलेखका विभिन्न १२ स्थानमा बाढि पहिरोका कारण सडक अवरुद्ध भएको छ । उता सल्यान सडक खण्ड भने सुचारु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 

Logo