अन्धविश्वासले घर-सम्पत्ति छाडेर सडकमा पुर्‍यायो

अन्धविश्वासले घर-सम्पत्ति छाडेर सडकमा पुर्‍यायो

केन्द्रबिन्दु
0
Shares

बुर्तिबाङ-बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । 

त्यही छाप्रोमा बस्छन् ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ । ढोरपाटन नगरपालिका–२ दुलेमा बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ । छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन । सार्वजनिक ठाउँ भएपनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन् । उनको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ ।

गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ । तर उनि कहिल्यै त्यो घरमा जानुहुन्छ । घर सम्झिँदा पनि उहाँ झसङ्ग झस्किनुहुन्छ । उनि झस्किनुको कारण अन्धविश्वास हो । तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जी घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छाडेका हुन् । 

दर्जी भन्छन्, “तीन वर्षमा मेरो तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षको भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ ।” घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेका उनि बताउँछन् । “घरमा वर्ष दिन नबित्दै तीन छोराछोरी मरे, तीन वर्षमा आठ जना आफन्त गुमाएँ, मलाई जति पिर कसलाई परेको होला त्यो बेला ?”, दर्जीले भने, “अति भयो र काठमाडौँमा ज्योतिषलाई हात हेराउन गएँ, ज्योतिषले घरमा राक्षसले बास गरेको छ, अरुको पनि पराण लिन्छ भन्नुभयो, छोरा र श्रीमती पनि डराए, घर अशुभ रैछ त्यही भएर गाउँ नै छाडेर हिँडेको हुँ ।”

अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जीवितै छन् । छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उनिसँगै बस्दै आएका छन् । दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ । घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ । उनि भन्छन्, “आफ्नो भएभरको घर सम्पत्ति सबै छाडेर यहाँ आइयो, यस्तो बाटोको छेऊमा छ छाप्रो पनि, गाडी चल्दा बर्खामा हिलो छ्याप्छन्, हिउँदमा धुलो उडाउँदै जान्छन्, कसलाई के भन्ने रु, यस्तो ठाउँमा बसेर होला सबैले हेला गर्छन्, बूढेसकाल लाग्यो, काम गरी खान पनि सकिन्नँ ।”

दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताए । छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गरे ।दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउछिन् । “हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौँ, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौँ, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो”, उनि भन्छिन्, “ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौँ होला ।”

दर्जीले सडक छेऊमा बस्न निकै गाह्रो भएको अनुभव सुनाए । उनि बाटोमा दिनरात गाडी चल्ने हुँदा थाकेर सुत्दा पनि गाडीको आवाजले निदाउन नसक्ने बताउँछन्। “यस्तो ठाउँमा छ घर, घर पनि के भनौँ यस्तो छ, जतिबेला पनि गाडी चल्छन्, दिउँसभरि काम गरेर थकाइ लाग्छ, राति गाडीको आवाजले निदाउँनै दिँदैन”। उनले घर गतिलो नहुँदा पानी पर्दा चुहिने र हुरी चल्दा छानो र बार सबै उडाइदिने गरेको सुनाए । सरकारले सानो भए पनि घर बनाइदिए आफूहरूलाई ठूलो राहत मिल्ने उनि बताउँछन् । 

Skip This
Skip This
Logo