मानव वन्यजन्तु द्वन्द्वः ‘अब ढुक्कले बस्न पाइने भयो’

मानव वन्यजन्तु द्वन्द्वः ‘अब ढुक्कले बस्न पाइने भयो’

केन्द्रबिन्दु
0
Shares

चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए । शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले जानकारी दिए । “जङ्गली जनावरका कारण स्थानीयले धेरै दुःख पाएको गुनासो गर्दै आएका थिए”, उनले भने, “अब केही हदसम्म भए पनि जङ्गली जनावर गाउँ छिर्नबाट रोकिन्छन् ।” 

यस वडा र चितवन राष्ट्रिय निकुञ्जलाई नारायणी नदीले छुट्याएको छ । “नारायणी तरेर जङ्गली जनावर गाउँ छिर्दा धनजनको क्षतिसमेत हुने गरेको थियो”, वडाध्यक्ष महतोले भने, “नदी तरेर आए पनि विद्युतीय तारबाट जङ्गली जनावर सहजरूपमा गाउँ छिर्न सक्दैनन् ।” रातको समयमा तारमा विद्युतीय झड्का छोडिने भन्दै उनले तारमा छोडिएको विद्युतीय झड्काले वन्यजन्तुलाई हानी नपु¥याउने बताए ।
 
“गाउँको सिमानामा जडान गरिएको विद्युतीय तारबाट वन्यजन्तुलाई क्षति पुग्दैन”, उनले भने, “जनावर गाउँ प्रवेश गर्न खोज्दा तारमा छोइएको अवस्थामा उनीहरुलाई करेन्ट लाग्दैन तर तारले जताबाट आएको हो उतै धकेल्ने काम गर्छ ।” विद्युत् नभएको समयमा जेनेरेटर प्रयोग गरेरसमेत विद्युतीय झड्का दिइने उनको भनाइ छ । 

गाउँमा करिब चार वर्षदेखि विद्युतीय तार बिग्रिएर बसेको थियो । नारायणी नदीको किनारै–किनार जोडिएको विद्युतीय तार बिग्रिएपछि गाउँमा बँदेल र एकसिङ्गे गैँडाले सताउँदै आएको स्थानीय सूर्यप्रसाद रेग्मीले बताए । निकुञ्जबाट गाउँ पसेको गैँडाले गत वर्षमात्रै दुई जना स्थानीयलाई आक्रमण गरी घाइते बनाएको उनको भनाइ छ । 

बँदेल तथा गैँडाका कारण यहाँका बासिन्दाले धान तथा गहुँखेती लगाउनै छाडेका छन् । “धानबारीमा गैँडा गएर चर्ने तथा मडार्ने गर्छ”, रेग्मीले भने, “खेती लगायो तर, भित्र्याउन पाइँदैन भने मेहेनतमात्रै किन गर्नु भनेर धेरैले धान तथा गहुँखेती गर्नै छाडिसके ।” बँदेलले पनि तरुल, आलुलगायतका बाली खाइदिने गरेको जनाइएको छ ।
 
वडाको पहलमा नगरपालिकाबाट विद्युतीय तारबार भएपछि भने अब खेतीपाती सुरक्षित हुनेमा स्थानीयवासी विश्वस्त छन् । जनावरको त्रासका कारण साँझ परेपछि घर बाहिर निस्कनै डर हुने भएकाले गाउँ नै सुनसान हुने गरेको भन्दै अब भने गाउँमा रमाइलो माहौल छाउने स्थानीयको अपेक्षा छ । 

Skip This
Skip This
Logo