कार्तिक कृष्ण औँसी अर्थात् आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ ।
मंगलबार अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु (स्पर्श गर्ने) हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने (मोक्ष हुने) नेपाल पञ्चांग निर्णायक विकास समितिबाट अनुमति पाई प्रकाशित पात्रोमा उल्लेख छ । यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने छ । यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका, मंगोलिया, सिरिया, नर्वेलगायत देशबाट देख्न सकिने खगोलविद् डा. जयन्त आचार्यले बताए ।
उनले सूर्य नांगो आँखाले नहेर्न सुझाएका छन् । विशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिने उनले बताए । फलादेशमा विश्वास गर्नेका लागि पात्रोमा शुभ र अशुभको फल बताइएको छ । पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ । मेष, मिथुन, कर्कट, कन्या, तुला, कुम्भ र मीन राशिलाई अशुभ हुने बताइएको छ ।
सूर्य र पृथ्वीको बीचमा पर्दा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ । सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास र आशिंक छेकेको अवस्था खण्डग्रास भनिन्छ । खण्डग्रास ग्रहण समय–समयमा परिरहन्छ । खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्छ ।































प्रतिक्रिया