पुष्प मेलामा अवलोकन कर्ताको गुनासोः ‘विदेशी फूलहरू धेरै देखिए, महंगो भो’

पुष्प मेलामा अवलोकन कर्ताको गुनासोः ‘विदेशी फूलहरू धेरै देखिए, महंगो भो’

केन्द्रबिन्दु
0
Shares

ललितपुरको जावलाखेल खेल मैदानमा शुरु भएको १५औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन् । 

कार्तिक ३ गतेदेखि शुरु भएको प्रदर्शनीमा विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका हुन् । अवलोकन कर्ताहरुका अनुसार काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य महंगो रहेको बताए । 

दक्षिणकालीबाट मेला अवलोकनका लागि आइपुग्नुभएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताए । 

उनले भने, ‘यस्तो फूलसम्बन्धी मेला राख्नु राम्रो हो, तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो । नगरपालिकाहरु कुन बिरुवालाई प्रोत्साहन गर्न सकिन्छ त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ ।’ 

त्यस्तै अर्का अवलोकन कर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए  । उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताए । 

अवलोकन कर्ता पुष्पा सिंहले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दा बढी फूलहश्रको बजार महंगी रहेको बताए । उनले गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको बताए । 

त्यस्तै व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउँछिन् । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताइन् । 

अर्का व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको गुनासो गर्छन् । व्यवसायी सुवास लामा भने मेलामा नयाँ ग्राहकका लागि चिन्ने अवसर हुने बताउँछन् । मेलाहरुले ग्राहकहरुलाई पनि एकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको उनले बताए । 
 
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ । मेला आजसम्म सञ्चालन हुनेछ । 

Logo