लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन

लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण, पवित्र र अलौकिक स्थल हो यसको भ्रमणका लागि जोसुकैका लागि पनि कम्तीमा दुई हप्ता चाहिन्छ ।
चिनियाँ बुद्धिस्ट एसोसियसनको पहिलो अन्तर्राष्ट्रिय सदस्य सि चोङ योङले लुम्बिनीको महत्वबारे यसरी बयान गरिरहँदा उनको मुहारमा खुशी थिएन । एकैछिनमा उनले भने–‘तर के गर्नु, यहाँ पूर्वाधार नै छैनन् । भ्रमणका लागि ठूलो संख्याका चिनियाँ यहाँ आउन निकै इच्छुक छन्, यहाँ आएर बौद्ध दर्शन, गौतम बुद्धको जन्मस्थल र यससँग जोडिएका धेरै कुराहरुको अध्ययन गर्न पनि चाहन्छन् तर उनीहरुलाई बस्ने राम्रा र ठूला होटलहरु नै यहाँ छैनन्, हाल उपलब्ध संरचनाहरु पर्याप्त छैनन् ।’
उनले भने–‘चीनमा त एउटै होटलमा सयौँ कोठा हुन्छन्, ठूलो संख्याका पर्यटक अटाउँछन् । तर यहाँका होटलहरु पनि साना साना छन् । लुम्बिनीमा थोरै होटल छन् र भएका पनि सानो आकार र क्षमताका छन् । चिनियाँहरु आउँदा एकै समूहमा सयौँको संख्यामा आउन र भ्रमण गर्न रुचाउँछन् र उनीहरु एकै ठाउँमा बस्न रुचाउँछन् । तर पनि उनीहरुलाई पुग्ने ठाउँ नै छैन यहाँ । त्यसैले ठूलो समूहमा आउने र घुम्ने स्वभावका पर्यटकका लागि यहाँ होटल र अरु पूर्वाधारहरु पनि आवश्यक छ, त्यसको मैले कमी नै देख्छु ।’

चोङको सुझाव छ ‘लुम्बिनी विश्वका बौद्धमार्गीहरुको अति पवित्र र आस्थाको केन्द्र हो । भगवान गौतम बुद्धको जन्मस्थल भएकोले बौद्धमार्गी मात्र नभएर लुम्बिनी विश्वकै पर्यटकको एक एउटा श्रद्धापूर्वक पुग्ने स्थान पनि हो । विश्वका हरेक नागरिकले जीवनमा कम्तीमा एक पटक लुम्बिनी पुग्न पाए हुन्थ्यो भन्ने इच्छा राखेकै हुन्छ । विश्वका बौद्ध दर्शनमा विश्वास गर्ने मानिसको चाहनाको त झन् कुरै भएन । हामीले नै अनुमान गरौँ न लुम्बिनी पुग्न चाहने विश्वको जनसंख्या कति होला ? त्यसैले कुनै दिन त उनीहरु यहाँ आउने छन् भनेर नेपालले होटल मात्र होइन आवश्यक अरु पूर्वाधार पनि बनाउनुपर्छ । यसरी नेपालको समृद्धि पर्यटनका माध्यमबाट बढी सम्भव देखिन्छ ।’

लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका लागि चीन सरकारका निर्देशक चाङले लुम्बिनी चिनियाँ नागरिकको पनि अति पवित्र र सम्मानित पर्यटन गन्तव्य हो भन्छन् । जीवनमा एक पटक लुम्बिनी पुग्न इच्छाएका चिनियाँ आफूले धेरै पाएको उनको अनुभव छ । नेपालमा चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणपछि नेपाल आउन चाहने चिनियाँको संख्या अझै बढेको आफूले पाएको उनले बताए । उनले भने–‘नेपाल भ्रमणका बारेमा खोजीनीति गर्ने चिनियाँ नागरिकको संख्या झनै बढेको छ । नेपाल आउने अधिकांश चिनियाँको गन्तव्य लुम्बिनी भएकोले पनि यहाँ आउन धेरै चिनियाँ आतुर छन् भन्ने देखिन्छ ।’

लुम्बिनी आउने चिनियाँ पर्यटकले आफ्नो संस्कृति र कला पनि त्यहाँ खोजेको हुन्छ । त्यसैगरी चिनियाँ पर्यटकहरुमध्ये कमैले मात्र अंग्रेजी भाषा बुझ्न सक्छन् । यहाँ आएका पर्यटकलाई चिनियाँ भाषामा नै सहजीकरण गरिदिने र यहाँको बसाई अवधिका अन्य आवश्यक सहयोगहरु पुर्याउने विषयमा नेपाल सरकारले ध्यान दिन सकेमा अझै राम्रो हुने उनको सुझाव छ । त्यसैले चिनियाँ बौद्ध गुम्बाको तर्फबाट पनि नेपाल र चीनसम्बन्धी सांस्कृतिक आदानप्रदानको कामका लागि आफूहरुले पहल गरिरहेको उनले बताए । यस्ता कुराहरुले यहाँ आउने विदेशी पर्यटकहरुको बसाई अवधि लम्ब्याउन, फेरि अर्को पटक पनि यहाँ आउन प्रेरित गर्ने उनको भनाइ छ ।

नेपाल चीनबीचको सम्बन्ध सदियौँ पुरानो र भावनात्मक रहेको उनी बताउँछन् । यी दुई देशबीच धेरै पुरानो सांस्कृतिक सम्बन्ध रहेका अनगिन्ती तथ्यहरु रहेका छन् उनी भन्छन् । चीनका बौद्धमार्गी नागरिक सबैलाई जीवनमा कम्तीमा एक पटक लुम्बिनी ल्याउन पाए हुन्थ्यो भन्ने आफ्नो उत्कट चाहना रहेको उनले सुनाए । गएको करिब १० वर्षदेखि प्रायः नेपालमै र बढी लुम्बिनीमा बस्दै आएका उनले दुई देशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरेको बताए । नेपालमा विसं २०७२ मा गएको भूकम्प तथा हाल जारी कोरोना महामारीमा उनको पहल र समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदै आएको छ ।

चाङ भन्छन्–‘नेपाल विश्वकै अत्यन्तै राम्रो देश छ । नेपालका लुम्बिनी र सगरमाथाजस्ता सम्पदा विश्वका पर्यटकका आकर्षक गन्तव्य हुन् । यी अलौकिक सम्पदाबाट नेपालले लाभ लिन सक्नुपर्छ । पर्यटनको विकासलाई प्राथमिकतामा राखी आवश्यक पूर्वाधारहरु तयार गरिदिने हो भने नेपाललाई समृद्धिको बाटो तय गर्न धेरै सजिलो छ । यहाँ पूर्वाधार र प्रचार मात्र हुने हो भने चिनियाँ पर्यटकको त चिन्ता मान्नै पर्दैन ।’

निर्देशक योङले गएको डिसेम्बरको अन्तिमतिर पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना महामारीमा नेपालले चीन सरकारलाई मास्क सहयोग गरेपछि चीन सरकार र चिनियाँ नागरिक निकै खुशी भएको आफूले पाएको स्मरण गरे । उनले भने–‘हुनत त्यो सहयोग ठूलो थिएन तर त्यो सहयोगभित्र छिमेकीको माया लुकेको थियो ।’ त्यसैले गर्दा पनि चीनले नेपाललाई यो महामारीबाट उम्किन सक्दो सहयोग गर्ने उनले बताए । उनले भने–‘अप्ठेरो परेका बेला चीनले नेपाललाई र नेपालले चीनलाई सहयोग गरेको राम्रो विगत हामीसँग छ, हाल नेपालमा देखिएको महामारीको नियन्त्रणमा पनि चीनले सक्दो सहयोग गर्नेछ ।’

त्यसैले चिनियाँ बुद्धिष्ट एसोसियसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाका तर्फबाट उनकै पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गतहप्ता उनी काठमाडौं आएर नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट १३ लाख ३७ हजार थान मास्कलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । उनले यो सहयोग नेपाल ट्रान्स हिमालयन सोसाइटीलाई उपलब्ध गराएको र उक्त सोसाइटीले व्यक्ति तथा सुमदायको आवश्यकताको आधारमा वितरण गरिने बताएको थियो ।

चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १ सय भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र ५ हजार जना बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका छन् । ठूलो परिमाणका ती सामग्री केही प्रदेश तथा स्थानीय सरकारका साथै नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई उपलब्ध गराइएको थियो । नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसियसनको तर्फबाट सहयोग जुटाउँदै आएका उनको पहलमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु १ अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको थियो । त्यस्तै भूकम्पका समयमा काठमाडौं तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो ।

ग्लोबल टाइम्स् पत्रिकाले सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने पूर्वानुमानसहितको अनुसन्धान प्रतिवेदन कोरोना भाइरसको फैलावटकको केही अघिमात्र गरेको थियो । उक्त अनुसन्धानले नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिलेभन्दा १५ प्रतिशतले बढेको देखाएको थियो । नेपालले सन् २०२० मा आह्वान गरेको नेपाल भ्रमण वर्षमा ३ लाख चिनियाँ पर्यटकको आगमनको अनुमान गरिएको थियो । त्यसपछि भएको चिनियाँ राष्ट्रपतिको भ्रमण र नेपालबारेको जानकारी खोज्ने चिनियाँको यो आँकडा हेर्दा नेपालले गरेको ३ लाखभन्दा बढी नै चिनियाँ भित्रिने अनुमान नेपालको थियो । तर अकस्मात फैलिएको अकल्पनीय कोरोना महामारीले गर्दा ठूलो मार हामीलाई नै परेको छ ।

पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दो छ । विसं २०७२ को भूकम्पपछि घटेका चिनियाँ पर्यटक सन् २०१८ मा १ लाख ५४ हजारले नेपाल घुमेका थिए भने सन् २०१९ मा त्यो भन्दा बढी छन् । सन् २०१९ मा १२ लाखभन्दा बढी विदेशी नेपाल घुम्न आएका र यो अघिल्लो वर्षको तुलनाभन्दा २५ प्रतिशतले बढी हो । वृद्धि भएकामा चिनियाँ नै बढी छन् । सन् २०१९ को पहिलो दुई महिनामै नेपाल आउने विदेशीको संख्या २४ प्रतिशतले बढेको थियो र त्यो वृद्धिको ठूलो हिस्सा चिनियाँकै थियो । नेपाल घुम्न आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्या १४ प्रतिशत पुगेको छ, जुन भारतभन्दा एक स्थान मात्रै पछाडि हो ।

सरकारले अबको पर्यटनलाई धार्मिक र छिमेकी भारत र चीनमा केन्द्रित गर्दा अझ राम्रो हुन्छ । लुम्बिनीमा चिनियाँलाई आकर्षित गर्न सके नेपाललाई पर्यटकले खाँचो हुदैन । हाम्रा अलौकिक हिमाल, पर्वत र ट्रेकिङ चिनियाँहरुका लागि साहसिक गन्तव्यका रोजाई हुन् । त्यसैले हामीले सि चोङ योङले भनेजस्तै लुम्बिनी र सगरमाथाजस्ता अलौकिक सम्पदाहरुबाट बढी लाभ लिने गरी नीति र कार्यक्रम बनाउनु जरुरी छ ।–रासस

Logo