बैतडीमा शनिबार राति भूकम्प जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ ।
भूकम्पको धक्का महसुस भएका बेला घरबाहिर निस्किँदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो । भूकम्पको धक्का महसुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।
मृतक लुहारको टाउकोमा चोट लागेको थियाे । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ ।
गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायतका संघसंस्थाले पनि मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको बताइएको छ ।
शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा ठूलो धक्का महशुस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नुच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।































प्रतिक्रिया