मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ

मतदानका लागि गाउँ फर्किनेहरु भन्छन्ः युवालाई नेतृत्वमा ल्याउनुपर्छ

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तिब्र बनेको छ । 

भोट हाल्न एक दिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तिब्र बनेको हो । मंसिर ४ गते आईतवार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज शनिवार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ । 

काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिवद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताए । उनीहरुले देश विकासका लागि भन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ । 

धादिङका वासिन्दा लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिवार बिहानै कोटेश्वरमा गाडी कुरिरहेका थिए । उनले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए । 

त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने बताउँछन् । अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताए । 

रामेछाप मतदानका लागि जान लाग्नुभएका रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई जिताउन आवश्यक रहेको बताए । उनी पनि अहिलेको राजनीतिक दल र नेताहरुप्रति असन्तुष्ट नै थिए । 

त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका गौरीशंकर गौतमको भनाइ पनि युवाहरुको भन्दा फरक छैन । उमेरले ७० नाघिसकेका उनी युवाहरुले मात्रै अब देश विकास गर्नसक्ने बताउँछन् । नेतृत्व गर्ने ठाउँमा युवाहरु गए मात्रै देशले विकास पाउनसक्ने उनको भनाइ थियो । 

शनिवार कोटेश्वर क्षेत्रमा उल्लेख्य मात्रामा मानिसहरु मतदानका लागि गाउँ फर्किने तयारीमा गाडी कुरिरहेका थिए । केही राजनीतिक दलका नेताहरुले पठाएको सवारीसाधनमा गाउँ जान लाग्दै थिए भने कोही आफ्नै खर्चमा मौलिक अधिकार मतदानका लागि गाउँ फर्किने तयारीमा देखिन्थे । 
 
अधिकांश जनताहरुले यसपटक विकासका कामलाई अघि बढाउन सक्ने नेतृत्वको खोजि गरेका छन् । आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिजुली बत्ती लगायतका विकासका कामहरु अघि बढाउन आग्रहसमेत गरेका छन् । 

Logo