दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिमा महादीपदान

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिमा महादीपदान

केन्द्रबिन्दु
0
Shares

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा महादीपदान गरिएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्र लगायत देशभरका शिवालयमा  महादीपदान गरिएको हो । पितृका नाममा बत्ती बाल्न पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले आज साँझ विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । 

चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । सोमवार रातभर दीपदान गरी बसेका भक्तजनले मंगलवार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । 

जाडोको मौसम भएकाले दीपदान गर्नेहरुका लागि पशुपति क्षेत्रमा पाल लगायतको व्यवस्था गरिएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक सय आठ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरेर रातभर जागा बस्दछन् । 

शतबीज भनिए पनि अहिले सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश दिने गरिन्छ । वागमती किनारको मृगस्थलीमा महादेव मृगरूप धारण गरेर बिहार गर्नुभएको थाहा पाइ त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।

Skip This
Skip This
Logo