मासिक एक लाखसम्म पेन्सन

मासिक एक लाखसम्म पेन्सन

केन्द्रबिन्दु
0
Shares

सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म  पेन्सन लिन थालेका छन् । कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । 

कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९ हजार ६२५ रुपियाँ निवृत्तभरणका रूपमा प्राप्त गर्नुभएको हो । मृतक न्यौपानेले बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र तलब पनि एक लाख रुपियाँको हाराहारीमा पाउथे ।

सामाजिक सुरक्षा ऐनअनुसार योगदानकर्ता मृतक न्यौपानेको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबाट उनकी श्रीमती दीक्षाले मासिक ५९ हजार ७७५ रुपियाँ निवृत्तिभरण आजीवन प्राप्त गर्नुहुनेछ भने उनका सन्ततिले शैक्षिक वृत्तिअन्तर्गत ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुग्दासम्म मासिक ३९ हजार ८५० रुपियाँ प्राप्त गर्नुहुनेछ । 

कानुनअनुसार योगदाकर्ताकी श्रीमतीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगारी रहेको अवस्थामा भने यो सुविधा पाइँदैन । ऐनमा मृतक अविवाहित भएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

Logo