काठमाडौंकाे भूमि आयोग भन्छ- महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेकै थिएनौं

काठमाडौंकाे भूमि आयोग भन्छ- महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेकै थिएनौं

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्वासीहरुको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ । आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रुपमा अघि बढेको पाइएको बताएको हो ।

मंगलवार सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतीले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए । उनले आयोग अहिले लागत संकलन कार्यमा जुटिरहेको र चुनावका बेला आचारसंहीता लागू भएकाले काम गर्न नपाएको बताए ।

अध्यक्ष प्रजापतीले आयोगले लागत संकलन गरी वास्तविक सुकुम्वासीहरुको पहिचान नगरीकन महानगरले डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन जाने कुरा उचित नभएको बताए । 

उनले भने- ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ । हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौँ । महानगर एकतर्फी ढंगले अघि बढेको भन्ने जानकारी पायौँ । लागत संकलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो । एक जना पनि सुकुम्वासी भूमिहीन हुन नपरोस् भन्ने हो । वार्ता बाहेकको अर्को कुनै विकल्प नै छैन ।’
 
अध्यक्ष प्रजापतीले सुकुम्वासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए । यसअघि पनि सो अपार्टमेण्टमा पुगेका सुकुम्वासीहरुलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको उनले बताए । 

उनले भने- ‘इचंगुनारायणको अपार्टमेण्टको कुरा छ, तर त्यहाँ गएर हेर्दा त्यहाँका वडाध्यक्षले पहिला पनि सुकुम्वासी बसोवासका लागि ल्याएको थियो, हामीले स्वीकृति दिएनौँ । अहिले पनि यहाँ बस्न दिँदैनौँ यहाँ नल्याउनु भनेको रहेछ । १३४ परिवार भन्ने कुरा छ । लागत संकलन गरेपछि कति भन्ने यकिन तथ्यांक थाहा हुन्छ ।’
 
यता सोमवारदेखि आन्दोलनरत थापाथली सुकुम्वासी बस्तीका बासिन्दाहरु भने गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाए । 

बस्तीका हुकुमबहादुर लामाले महानगरपालिकाले बस्ती भत्काए पनि पुनः सोही ठाउँमा बस्ने बताए । उनले बिना विकल्प जबरजस्ती उठाउनु नहुने र सधैँको लागि सबै सुकुम्वासीको समस्या समाधान हुनुपर्ने माग गरे । सुकुम्वासीहरुले गरिबको बोल्दिने कोही छैन भनेर गीत गाउँदै आएको देखेर यस्तो प्रतिनिधिले मात्रै गरिबका सपना र मागहरु पूरा गर्छ भनेर भोट हाले पनि अहिले गरिबमाथि नै खनिएको आरोप लगाए । 

सुकुम्वासी बस्तीमा आज पनि बस्ती भत्किने डरले अशान्ती छ । केही समय अघिमात्रै उनीहरु काठमाडौं महानगरपालिकाको गेटमा प्रदर्शन र नाराबाजीमा निस्किएका थिए । उनीहरुले सरकार निकम्मा भएको भन्दै राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग राखेका छन् । उनीहरुले सुकुम्वासी बस्ती प्रवेश गर्ने सबै सडकहरु बन्द गराएका छन् भने सडकभर टायर र ढुंगाहरु छरपस्ट देख्न सकिन्छ । 

एकीकृत वागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गराउन महानगरको टोली पुगेदेखि नै थापाथली क्षेत्र तनावग्रस्त छ ।

Skip This
Skip This
Logo