भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान

भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान

केन्द्रबिन्दु
0
Shares

सुर्खेतस्थित भेरी नदी किनारका नागरिकलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली जडान गरिएको छ।

वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घर भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो । एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो । वराहताल गाउँपालिका–२ को पाग्म र वडा नं ४ को तरङ्गा तथा पञ्चपुरी नगरपालिका–९, जामु र वडा न ११ कुइनेमा पूर्वसूचना प्रणालीका लागि आवश्यक साइरनसहितको उपकरण पनि जडान गरिएको छ। त्यहाँ करिब सात लाख रुपियाँको उपकरण जडान गरिएको हो ।

परियोजनाका व्यवस्थापकबिना खड्काका अनुसार यो प्रणालीले वर्षायाममा सर्वसाधारणलाई वर्षा र बाढी आउनुपूर्व सन्देश दिएर नदी किनारका बस्तीका बासिन्दालाई सचेत गराउनेछ। उहाँले २०७१ सालमा उक्त स्थानमा वर्षा र बाढीले धनजनको निकै क्षति गरेको हुँदा सोही स्थानलाई केन्द्रबिन्दु मानेर पूर्वसूचना प्रणाली परियोजना लागू गरिएको जानकारी दिए। यो प्रणालीको उपकरणले बाढी र पानी आउनुभन्दा दुई घण्टाअघि नै सचेत गराउने गरेको छ। सूचना प्रणालीले दुई घण्टाअघि दिएको बाढीसम्बन्धी दिएको सूचनाको आधारमा स्थानीय सुरक्षित स्थानमा जान सक्छन्। यसले जनधनको क्षति कम गर्छ। बाढी वा ठूलो पानी आउनासाथ सतह पार गरेमा उपकरणले सुरक्षित स्थानमा जानु होला भनी साइरन बजाउने गर्दछ।

वराहताल गाउँपालिका–२ पाग्मका चन्द्रा घर्तीमगरले उक्त उपकरणले गत असोजमा आएको बेमौसमी वर्षाबाट बच्न सहयोग मिलेको बताए । बाढीले खतराको चिह्न पार गर्नासाथ साइरन बजेको र त्यसपछि सबै बासिन्दा सुरक्षित स्थानमा गएकाले धनजनको क्षति हुनबाट बचेको जानकारी दिए । जल तथा मौसम कार्यालय कोहलपुरका प्रमुख राम विकेस रायले पूर्वसूचना प्रणालीले बाढीबाट हुन सक्ने क्षतिबाट बचाउन सहयोग पुग्ने बताए ।

Logo