दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतीय पक्षले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको संख्यामा एसएसबी र सेनाका सवारी साधन परिचालन गरिएको छ ।
सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन् । ‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए’– व्यास–२ का मुकेश बुढाथोकीले भने–‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गाली गलौजसमेत गरेका थिए ।’
नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए। नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ ।
भातरले लिपुलेक जोड्ने सडक निर्माणको क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याइ आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामी भन्छन्–‘ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आएपछि राम्रो भएको छ ।’
नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ । अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन् ।
व्यासका स्थानीयवासी भन्छन्–‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ ।’ भारतीय पक्षले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैको कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दैछ ।
नेपाली सेनाले घोरेटो बाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छाङ्गरुमै नेपाली सेनालाई राख्न प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेले भने–‘व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।’–रासस































प्रतिक्रिया