प्रेमिल जोडीको महोत्सव भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । ७ देखि १३ फेब्रुअरीसम्म धेरै विशेष दिनहरू छन्, मानिसहरूले आफ्नै तरिकाले मनाउँछन् । त्यसपछि १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाउँछन्।
यसैबीच कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा माघ २४ गते मंगलबारदेखि भृकुटीमण्डपमा जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रेमिल जोडीसँग नै सम्बन्धित स्टल राखिएको छ । एस्टर क्लिक नामक उक्त एपले बिहे गर्ने उमेरका युवाहरुलाई आफू सुहाउँदो जोडी खोज्न मद्दत तथा कुरा गर्ने साथी खोज्न मद्दत गर्छ।
मेलामा पुगेका युवा वर्गहरुले स्टलमै एस्टर क्लिक डाउनलोड र साइनअप गरिरहेका छन् । एप डेभलपर दिपेश न्यौपानेका अनुसार बिहीवारसम्म ७०० भन्दा बढीले एप डाउनलोड गरिसकेका छन् ।
आधुनिकतासँगै समाजमा प्रविधिको हस्तक्षेप उत्तिकै बढ्दो छ। एस्टर यसैको एक उदाहरण हो।
पहिले पहिले वरवधु खोज्ने काम लमीकै हुन्थ्यो । तर इन्टरनेटको बढ्दो प्रयोगसँगै लमीको काम अब एस्टर क्लिकजस्तै अन्य एपहरुले गर्न थालिसकेका छन् । नयाँ पुस्तालाई ‘लमीको चलन’मा भन्दा आफैँ आफ्नो जीवनसाथी खोज्न सहयोग गर्ने एप नै प्रिय लाग्न थालेको छ।
‘लमीको इच्छामा आफूलाई मन नपरेको जोडीसँग पनि विवाह गर्न बाध्य हुन्थे’, एस्टरका न्यौपाने भन्छन्,‘समाज परिवर्तन हुँदै छ। मानिसहरुको अधिकांश समय अनलाइनमा बित्नथालेको छ।अनलाइनको भीडबाट बच्ने र साइबर सुरक्षा जोखिमबाट पनि जोगिन डेटिङ एप ल्याएका हौँ।’
सुरुमा डेटिङ शब्द नेपालीले सहज नलिए पनि त्यसमा भिज्दै गएको उनको भनाई छ । उनी भन्छन्- ‘सुरुमा डेटिङ भन्ने वित्तीकै गलत अर्थ बुझेपनि धेरै पछि त्यसमा बानी हुँदै जान्छन् र भिज्दै जान्छन् । यो एप धेरै सुरक्षित छ किनकी मेरा घर परिवारमा सबै जोडिसकेका छन् ।’
एस्टर क्लिकले मानिसहरुलाई आफूले खोजेको जस्तो जोडी खोजिदिन्छ । उमेर, धर्म र देशको आधारमा एस्टर क्लिकले मानिसलाई जोडी खोज्न सहयोग गर्छ। एपमा जोडी खोज्न जानेले एक अर्काको प्रोफाइल हेरेर कुराकानी गर्न सक्छन्। कुराकानीबाट जोडी बन्न चाहे ‘क्लिक’ हुन्छन्।
डेभलपर न्यौपानेका अनुसार धेरै डेटिङ एपमा अश्लीलता फैलिएको सुन्न पाइन्छ तर एस्टर क्लिकमा कसैले अपशब्द प्रयोग गर्न मिल्दैन। अपशब्द लेखेर पठाएको म्यासेज डिलिट हुने उनी बताउँछन्। उनी भन्छन्, ‘नराम्रो व्यक्ति पहिले नै थाहा भैहाल्छ ।’
कसरी चलाउने एप ?
यो एप चलाउन प्ले स्टोरबाट सुरुमा एस्टरक्लिक टाइप गरेर डाउनलोड गर्नुपर्छ। त्यसमा फेसबुकमा जस्तै प्रोफाइल बनाउनुपर्छ। नक्कली प्रयोगकर्ता नहोस् भन्नका लागि धेरै कुरा भर्नुपर्ने व्यवस्था छ।
यसमा फोटो, जन्मदिन नक्कली राख्दा प्रोफाइल ‘भेरिफाइड’ नै हुँदैन। फोटो र उमेर ढाँटेर प्रोफाइल बनाए भेरिफाइड नहुने उनले बताए। झूटा विवरण भरेकाले १४ दिनसम्म मात्रै झुक्याउन पाउँछन्। १५ दिनमा एपलाई रेस्पोन्स नगर्नेलाई प्रोफाइल डिलिट हुने व्यवस्था समेत गरिएको छ।
डेभलपर न्यौपाने- ‘अनलाइनमा बढी भीड हुन्छ । छोराछोरी असुरक्षित भए भन्ने चिन्तालाई एस्टर क्लिकले सबोधन गर्छ । यो एप धेरै सुरक्षित छ । यसमा एकल भएर बसेका महिला तथा पुरुषहरुका लागि यो एप एकदमै उपयोगी छ । अब रुचिअनुसारकै मानिसबाट उत्तम जोडी छान्न सकिन्छ।’ यो एपमा पुरुषभन्दा बढी महिला जोडिएका छन् ।































प्रतिक्रिया