अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिने आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन् ।
मृतक बालिकाकी आमा आशिका भण्डारीले आफ्नी २८ महिनाकी छोरी प्रशंशाको उपचारको क्रममा लापरबाहीले ज्यान गएको भन्दै हिमाल अस्पताल विरुद्ध पत्रकार सम्मेलन गरेकी हुन् । छोरीको उपचारमा संलग्न डा. जयदेव यादवले लापर्वाही गरेको उनको आरोप छ । उनले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको मागसमेत गरेकी छन् ।
सामान्य रुघाखोकी लागेकी प्रशंशालाई पीडित दम्पत्तिले हिमाल अस्पतालमा माघ २३ गते लगेका थिए । उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफरल लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकल रेकर्ड समेत नदिएको आरोप छ । अन्तिम अवस्थामा विरामी नबाँच्ने भएपछि महाराजगंजस्थित मेट्रो अस्पतालमा पुर्याएको र दुई घण्टापछि छोरी प्रशंशाको मृत्यु भएको पिता गौरव दर्पणले केन्द्रबिन्दुलाई बताए ।
हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडितका अभिभावकको आरोप छ । रुघाखोकी र ज्वरो आएको बालिकालाई अस्पतालले सामान्य परीक्षण समेत नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको पनि उनले बताए । उनले छोरीको उपचारमा लापरबाही गर्ने चिकित्सक यादवको लाईसेन्स छानविन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी दिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा दर्पण परिवारले बताएको अंश- नानीलाई ज्वरो, रुघाखोकी लागेका कारण माघ २३ गते सोमबार नक्सालस्थित हिमाल हस्पिटलमा लगेर बच्चाको डाक्टर जयदेव यादवलाई विरामी छोरी देखायौं । डाक्टरले छाती, घाँटी हेर्नुभयो, ज्वरो नाप्नुभयो अनि भाईरल ज्वरो हो यसमा आत्तिनुपर्ने केही छैन । छातीहरु राम्रो छ भनेर औषधिहरु लेखिदिनुभयो । घ्यारघ्यार भईरहेको छ । अलि चेक गर्नु पर्यो भन्यौं, तर डाक्टर यादवले चिन्ता गर्नुपर्दैन भन्नुभयो । औषधि खुवाएर हेर्नुस् । शुक्रबार फलाेअपमा ल्याउनुहोस् भन्नुभयो । घरमा लगेर औषधिहरु खुवायौं तर ज्वरो घटेन । छातीमा घ्यारघ्यार बढ्यो । त्यसपछि मंगलबार फेरी हिमाल अस्पताल लगियो । त्यतिबेला पनि डाक्टरले सबै औषधि ठिक छ । छातीमा नराम्रो केही पनि छैन भन्नुभयो । बरु नानीलाई बाफ लगाई दिने भनेर ३ दिनका लागि लेखिदिनु भयो । यही इमर्जेन्सीमा ल्याएर बाफ लगाउनु, कफहरु सबै जान्छ भन्नुभयो । बाफ लगाएर लगियो । तर नानीको पेट पनि फुलेको देखियो । अनुहार सुन्नियो । घ्यारघ्यार अझै बढ्यो । बुधबार फेरी डाक्टरलाई देखाइयो । फेरी पनि डाक्टरले आत्तिने कुरा केही पनि नभएको बताउनु भयो । सबै नर्मल नै छ भन्नुभयो । निमोनिया भयो कि भनेर हामीले चेक गराउनुपर्छ कि भनेर सोध्दा डाक्टरले पर्दैन भन्नुभयो । फेरी पनि टेष्ट गराऔं भन्यौं तर पनि उहाँले लापरबाही गर्नुभयो । हामी चिकित्सकको भर पर्यौं । बिहीबार बच्चाको शिथिल शरीर फेरी देखायौं । फेरी पनि नआत्तिनुहोस् भन्नुभयो । त्यसपछि हाम्रै आग्रहमा बच्चाको एक्स रे गरियो । फोक्सोमा ६० प्रतिशत भन्दा बढी पानी भरिएको रहेछ । त्यसपछि इमर्जेन्सीमा भर्ना गरियो । त्यहाँ अक्सिजनको मात्रा एकदमै कम भएपछि उपचार गर्न थालियो । उपचार हुँदै गयो,गर्दै गर्दा विरामी झन शिथिल हुँदै गईन । त्यसपछि डाक्टर नै डरायो । पिआईसियू चाहिन्छ र हेम्स अस्पताल लैजानु भन्नुभयो । हामी तयार भयौैं । हेम्सको डाक्टरलाई ब्रिफ गरेपछि उसले यहाँ नपठाउनु भन्नुभयो । अनि हामीलाई कान्तिमा मैले डाक्टरसँग कुरा गरेँ । त्यहाँ पिआईसियू खाली छ । विरामीलाई आधा घण्टाभित्र लिएर जानुस् । नआत्तिनु । रिफ्र लेटर लेखिदिन्छु भन्नु भयो । रिफ्र लेटरमा डाक्टरको हस्ताक्षर पनि छैन । हस्पिटलको स्ट्याप पनि रहेनछ । त्यो अहिले आएर पो मलाई थाहा भयो । पुरानो रेकर्ड कुनै पनि दिएन । केही लानु पर्दैन भनेर लुकाई दियो । काउन्टरमा गएर रेकर्ड माग्दा डाक्टरले नदिनु भन्यो । मैले नर्सको हातबाट त्यो जब्बरजस्ती खोसेर ल्याए । कान्तिमा विरामीलाई त्यो रिफ्र लेटरको आधारमा विरामी लिनै मानेन । हाम्रो पिआइसियू नै खाली छैन । डाक्टरले कुरै गरेको छैन भन्यो । हिमालबाट कुनै पनि खालको फोन आएको छैन भन्नुभयो । मैले अनुरोध गरेपछि त्यहाँ डाक्टरहरुले हेरेँ । बच्चाको अवस्था नाजुक छ । यो बेला आईसियू भएको अस्पताल खोज्नुस् भन्नुभयो । त्यसपछि मेट्रो हस्पिटलमा पीआइसियू भएको थाहा भयो । त्यसपछि एम्बुलेन्समा राखेर नानीलाई त्यहाँ पुर्याइयो । भेन्टिरलेटरमा राखेर उपचार गरेको करिव २ घण्टामा नानी डेथ भएको क्लिएर गरिदियो । हामी विज्ञ होइनौं । सामान्य अभिभावक हौं । दैनिक हामीले चेक गर्न जाँदा पनि उसले किन जाँच नगराई दिएको होला । कान्ति अस्पतालमा कुनै पनि खवर नगरी रिफ्रर लेटर दिनु । रिफर लेटरमा चिकित्सकको हस्ताक्षर समेत नहुनू । डाक्टरले मेडिकल रेकर्ड देखाउँदा मैले के देखाउँथे होला । त्यो सबै लुकाएर पठाउनुको अर्थ के ? आज १३ दिन भयो । अरु पनि बच्चाहरुलाई उसले के गर्यो होला । अरु बच्चाहरु माथि कति हेलचक्र्याई गरेको होला उसले । डाक्टरको योग्यतामाथि छानवीन हुनुपर्छ कि पर्दैन ? मेडिकल काउन्सिलले यस्ता डाक्टरहरुलाई लाईसेन्स दिँदाखेरी छानविन गर्छ कि गर्दैन ? हामीलाई क्षतिपूर्ति चाहियो । उनको योग्यतामाथि छानवीन हुनुपर्यो भन्ने माग राख्दै हामीले यो पत्रकार सम्मेलन गरेका हौं ।

पीडित अभिभावक आशिकाले फागुन ८ गते सोमबार आफूहरुमाथि न्यायको माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिएकी छन् । त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको उनले बताएकी छन् ।
दर्पण दम्पत्तिको आग्रह छ- ‘लापरबाही गर्ने हिमाल अस्पताल र त्यहाँका चिकित्सक यादवको योग्यतामाथि छानवीन गरी कारबाही गरियोस् ।’ प्रशंशाको १३ औं पुण्यतिथि सकिएपछि पीडित दम्पत्तिले न्यायको खोजी गर्दै पत्रकार सम्मेलन गरेका हुन् । उनले न्यायका लागि अदालत पनि जान बाध्य हुने बताइन् । पिडित पक्षले फागुन १० गते (भोली) पीडित पक्षले हिमाल अस्पतालको व्यवस्थापनसँग सो विषयमा कुरा गर्ने तयारी गरेका छन् ।
यसै सिलसिलालाई केन्द्रबिन्दु टोलीले आरोपित हस्पिटलका डा. जय यादवलाई फोन सम्पर्क गरी सोध्दा उनले केही नबताउने बताए । यो विषयमा अस्पताल प्रशासनको अनुमती बिना आफू मौन नै रहने उनले जानकारी दिए ।































प्रतिक्रिया