राष्ट्रिय सेवा दलद्वारा संचालित सि.सं.१७ सिनियर डिभिजन National Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाज बिहीवार सम्पन्न भएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको समारोहमा तालिम पूरा गरेका ५७६ जना क्याडेट छात्रछात्राहरु दीक्षित भएका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तालिमले अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो ।
समारोहमा सिनियर डिभिजन तालिम सम्पन्न गरेका २७० छात्र र ३०६ छात्राहरु दिक्षित भएका थिए । त्यस अवसरमा मित्रराष्ट्रहरुका सैनिक सहचारीहरुका साथै Youth Exchange Programme मा सहभागी हुन आएका विभिन्न मुलुकका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले सर्वोत्कृष्ट क्याडेटलाई पुरस्कार प्रदान गरेका थिए । वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय सेवा दलमा प्रधानमन्त्री संरक्षक एवं रक्षामन्त्री तथा प्रधान सेनापति सह संरक्षक रहने व्यवस्था छ । वि.सं. २०७५ सालदेखि देशभर विस्तारित राष्ट्रिय सेवा दल कार्यक्रम अन्तर्गत हालसम्म सिनियर डिभिजनतर्फ १० हजार ८५९ जना ले तालिम लिइसकेका छन् ।
यसैगरी जुनियर डिभिजनतर्फ ५५ हजार ९१७ जना गरी जम्मा ६६,७७६ जनाले तालिम सम्पन्न गरेका छन् । समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सह संरक्षकद्वय रक्षामन्त्री एवं प्रधान सेनापतिले दीक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।





































प्रतिक्रिया