मर्स्याङ्दी नदीमा खसेर हराएका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन् ।
गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि महत बेपत्ता भएका थिए ।
बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं गुल्म हेडक्वार्टर मनाङको चामे जाँदै थिए ।
सशस्त्र प्रहरी कार्यालयका प्रमुख मानबहादुर शाहिका अनुसार राइनास नगरपालिका ६, धमिलीकुवा छेउ मर्स्याङ्दी नदीमा एउटा युवकको शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो । उनको शव परिवारले सनाखत गरेको जनाइएको छ । ।































प्रतिक्रिया