दुर्घटना न्युनिकरणका लागि मजदुरहरूलाई मासिक रुपमा प्रशिक्षण

दुर्घटना न्युनिकरणका लागि मजदुरहरूलाई मासिक रुपमा प्रशिक्षण

केन्द्रबिन्दु
0
Shares

सङ्घीय राजधानीपूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमितरूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

चालकहरूको लापरवाहीले दैनिकरूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनीमाफर्त कार्यरत चालक, सहचालक तथा परिचरका लागि मासिकरूपमा अभिमुखीकरण तालिम सञ्चालन गरेको हो ।

यातायातले प्रत्येक महिनाको २३ गते मजदुरलाई ट्राफिक नियम, यात्रुसँग गरिने व्यवहार, यातायातसम्बन्धी नियम, कानुनलगायतका विषयमा प्रशिक्षण दिन सुरु गरेको पूर्व अरनिको यातायात कम्पनीका अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिए ।

प्रशिक्षणमा न्यूनतम एक सय बढी मजदुर तालिममा सहभागी हुने गरेको र अहिले दुर्घटनामा समेत कमी हुँदै गएको उनले बताए । यातायात क्षेत्रका विज्ञ, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सरकारी वकिललगायतका यातायतसँग सरोकारवाला विज्ञहरू ल्याएर मजदुरलाई प्रशिक्षण दिने गरिइएको छ। अध्यक्ष क्षेत्री आफैँले यातायात मजदुरलाई यात्रुसँग कसरी राम्रो व्यवहार गर्ने र दुर्घटना न्यूनीकरण कसरी कमी गर्ने भनेर प्रशिक्षण दिँदै आइरहेका छन् ।  

पूर्व अरनिको यातायात सञ्चालन हुने जिल्लामा छुट्ने बसहरूको ‘काउन्टर’मा प्रत्येक दिन बिहान पुगेर बसका चालक, सहचालकसँग भेटघाट गरेर यात्रुप्रति जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई आग्रह गर्दै काउन्टरमा  जाने गरेको अध्यक्ष क्षेत्रीले बताए।

“हामी अब कोर्ष नै बनाएर मजदुरलाई प्रशिक्षण दिने योजनामा छौँ”, उनले भने, “कोर्ष निर्माण गरेर सिकायौँ भने सबै मजदुरका लागि राम्रो हुन्छ ।” राजधानीपूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत १६ बढी जिल्लामा अरनिकोले विगत ५० वर्षदेखि नियमित यातायात सञ्चालन गर्दै आइरहेको छ ।

अहिले अन्य जिल्लामा समेत यातायात सञ्चालनका लागि दैनिकरूपमा त्यस क्षेत्रका जनप्रतिनिधिले आग्रह गर्दै पत्र आउने गरेको र आफूहरू अन्य जिल्लामा समेत यातायात सेवा विस्तारका लागि सकारात्मक रहेको पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताए।

Logo