काठमाडौं ।
विहिबार साँझ राजधानीको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतिय नागरिक पनि रहेको खुलेको छ । उनीहरुमध्ये रौतहटको लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार राति ११ बजे प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका आलमले आफूले ती युवतीलाई मन पराएको तर उनले वास्तै नगरेपछि एसिड हान्ने योजना बनाएको बयान प्रहरीलाई दिएका छन् ।
आलमले आफ्नै कामदारलाई युवतीमाथि एसिड प्रहार गर्न लगाएका थिए । मुन्ना महम्मद युवतीलाई एसिड छर्किने क्रममा छचल्किएर नाडी र पाखुरामा पोलेको अवस्थामा भेटिएका थिए । उनलाई नियन्त्रणमा लिए लगत्तै आलमलाई पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि एसिड प्रहार गर्ने महम्मदले ‘ मालिकको आदेश मानेर एसिड हानेको र आफैंलाई एसिड लागेको प्रहरीलाई बयान दिएका छन् । थप अनुसन्धान भइरहेको र अपराधीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ ।
ओखलढुंगा स्थायी ठेगाना भएकी एक २२ वर्षीया युवतीमाथि बिहीबार साँझ करिव ८ बजे एसिड प्रहार भएको थियो । पीडित युवतीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।
शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।
एसिड प्रहारका श्रृंखला
यसअघि पनि पटक पटक एसिड प्रहारका घटनाहरु हुने गरेका थिए । ०७६ भदौमा वीरगन्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । त्यस्तै ०७६ जेठ २ गते काठमाडौंको कालोपुलमा दोलखाका विष्णु भुजेलले आफ्नै श्रीमती जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए ।
६ वर्ष अघि राजधानीकै वसन्तपुरमा जीवन विकले दुई युवतीमाथि एसिड प्रहार गरेका थिए विकलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो ।
एसिड प्रहारका घटना अन्य जिल्लामा पनि बर्सेनि दोहोरिने गरेको छ । कतिपय घटनामा मायाप्रेम अस्वीकार गर्दा र कतिपयमा आपसी झगडाका कारण घटना यस्ता घटना भएको देखिएका छन् । प्रहरीले अपराधी पक्राउ गरेर कारबाही गर्ने गरे पनि यस्ता घटनाहरु भने बारम्बार दोहोरिने गरेका छन् ।





























प्रतिक्रिया