चितवनमा बाढी पहिरोमा परी एक जना बेपत्ता

चितवनमा बाढी पहिरोमा परी एक जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

चितवन ।

अविरल वर्षापछि आएको बाढी पहिरोमा परी जिल्लामा एक जना बेपत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौँ घर डुबानमा परेका छन् । खैरहनी नगरपालिका–११ का अन्दाजी ३० वर्षीय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई सोमबार साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्रिशुली नदी बढेर ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा तीन घर बगेका छन् । त्यहाँ कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. २६ र १६ मा डुबान भएको छ । उनका अनुसार वडा नं. २६ का ३० घरका र १६ का १४ घरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको बहाव बढ्दै गएकाले सतर्क रहन स्थानीय प्रशासनले आह्वान गरेको छ ।

नारायणी नदी किनारमा अनाथालय हाम्रो घरको आँगनसम्म पानीको बहाव आइपुगेको छ । पानी बढेमा त्यहाँ रहेका ३० जना आश्रितलाई अन्यत्र सारिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए। नारायणी नदीको सतह सतर्कताको सूचीभन्दा माथि रहेको छ ।रासस

Skip This
Skip This
Logo