आर्थिक भार थपिएपछि सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा

आर्थिक भार थपिएपछि सदर चिडियाखानाका बाघ ‘फास्टिङ’मा

केन्द्रबिन्दु
0
Shares

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । 

एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । 

उनका अनुसार हाल चिडियाखानामा १८ वर्षीय बाङ्गे बाघ, १३ वर्षीय महाराजा बाघ, १२ वर्षीय बगौरा बाघ, ९ वर्षीय प्रताप बाघ, ८ वर्षीया जगती (पोथी) बाघ र ५ वर्षीया महारानी (पोथी) बाघसहित जम्मा ६ वटा बाघ छन् । 

कोइरालाले भने, “सदर चिडियाखानाको क्षमताभन्दा बढी बाघ थपिएको छ । बाघ थपिँदै जाने क्रममा आर्थिक भार पनि थपिएको छ । त्यसैले प्रत्येक शनिबार बाघलाई ‘फास्टिङ’मा राख्ने गरेका छौँ । उनीहरुले पानी मात्र पिउँछन् ।”

पाँच वर्षे महारानी नामको बाघले वैशाख ८ मा कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गङ्गादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।

बाघको आक्रमणबाट चन्दको मृत्युपछि, डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्तीसहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायत निकाय क्रियाशील भई बाघलाई नियन्त्रणमा लिई वैशाख १० गते चिडियाखानामा ल्याइएको थियो ।

महारानीलाई हाल क्वारेन्टिनमा राखिएको छ । सुरुसुरुमा आहारा नखाएर झोक्राए पनि केही दिनयता सामान्य अवस्थामा फर्किन लागेको छ ।हाल प्रताप नामको भाले बाघ र जगती नामको पोथी बाघलाईसँगै राखिएको छ भने प्राविधिक टोलीको निगरानीमा क्वारेन्टिनमा रहेको महारानी बाघमा केही सुधार आएपछि महाराजा बाघसँग मिलाएर राख्ने योजना छ ।

Skip This
Skip This
Logo