यस्तो छ सोमबार सम्मको मौसमी गतिविधि

यस्तो छ सोमबार सम्मको मौसमी गतिविधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ ।

विभागका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ केही स्थानमा भारी वर्षा हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

साउन ४ को मौसम

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसदिन न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस दिन राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ । साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ ।

साउन ५ को मौसम

सोमबार भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

साउन ४ को रातिदेखि भने वर्षा बढ्ने भएकाले नदीको सतहसमेत बढ्न सक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अनुरोध गरेका छन् ।रासस

Skip This
Skip This
Logo