पछिल्लोसमय सिरहामा लागुऔषध बिक्रीवितरण तथा ओसारपसार व्यापक रुपमा भइरहेको पाइएको छ ।
जिल्लाको दक्षिण सिमावर्ती क्षेत्रमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुको फितलो निगरानीका कारण सिरहामा दिनप्रतिदिन लागु औषधको विक्रिवितरण तथा ओसारपसार व्यापक रुपमा बढिरहेको पाइएको हो ।
सिमानाका क्षेत्रहरुमा लागुऔषध तस्करहरुले रातभरी भारतीय बजारबाट खरिद गरि ल्याइएका लागुऔषधहरु नेपालको सिमानाका वरिपरिका गाउँघरमा भण्डारण गरी सिमानाकामा खटिएका प्रहरीहरुलाई नजराना तिरी लागुऔषधको कारोवार गरिरहेको नाम नखोल्ने सर्तमा एकजना लागुऔषध सेवनकर्ता बताउँछन्।
जिल्लाको विभिन्न नाकाहरु ठाडी, झाझपट्टी, बरहरी, वरियारपटि,औरही,र खैरटोका (माडर) तथा चोरबाटोहरु प्रयोग गरी सशस्त्रप्रहरी बल र नेपाल प्रहरीहरुकै आखाँ अगाडीबाट दैनिक ब्राउन सुगर,नाइट्रोजन टयाबलेट, नाइट्रोभेट, कोरेक्स सिरप,डिसि.डाइलेक्स,फेनार्गन लगायतका लागुऔषध तस्करहरुले वारीपारी गर्ने गरेको स्थानियहरु बताउँछन्।
बुधबारमात्र सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित लागुऔषध सहित एउटा मोटरसाइकल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैयाले नरहा गाउँ पालिका ३ नयाँ चोहर्वाबाट कोविवेल सिरफ एक सय एमएलको दुई सय बोतल, डल्फ डीसी एक सय एमएलको ५० थान, नाइट्रोजन ट्याबलेट ९१ थान सहित प्र. १–०५–००१प ७६०८ नम्वरको मोटराइकल बरामद गरेको हो।
प्रहरी सरप्राइज चेकिङ्गमा रहेकाे देखेर लागुऔषध तस्करहरु भाग्ने क्रममा मोटरसाइकल लड्न पुगेको थियो। मोटरसाइकल लडाएर भागेपछि शंका लागेर झोला चेकजाँच गर्दा झोलाभित्र रहेको प्लास्टिकको बोरामा सो परिणामको प्रतिवन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
लडेको मोटरसाइकल उठाउन पुगेको स्थानीय र प्रहरीलाई देखेपछि मोटरसाकलमा सवार दुवैजना झोला छोडेर फरार भएको एक प्रत्यक्षदर्शीले जनाए। लगतै आएका स्थानीय र प्रहरीले झोला खोली हेर्दा बोराभित्र प्याक गरेको सामान बरामद भएको प्रहरीको भनाई छ।
बरामद मोटरसाइकल धनीसँगको समन्वयमा उनीहरुको खोजीकार्य थाल्ने प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएकाे छ । त्यसैगरी, गत चैत ७ गतेका दिन भारतीको मधुवनी प्रहरीले पश्चिम बंगालको ब्राउन सुगर कारोबारीलाई विशेष सुचनाको आधारमा ७ जना भारतीय र २ जना सिरहाको युवाहरु पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू भारतको पश्चिम बंगालका मो.हुमायु कविर, मो.नइम, मो.सरयुल शेख,सोेही ठाउका बाबर अली मो.जसिम,असमाउल हक, नशिव शेख र सिराहाको नरहा बस्ने सोनम कुमार यादव, गोलबजार नपा ७ बस्ने मनोज कुमार शर्माको साथबाट ६ सय ५० ग्राम ब्राउन सुगर , २ लाख ५८ हजार भारतीय रुपैयाँ ,१२ हजार नेपाली रुपैयाँ तौल गर्ने मेशिन थान ३ सहित नियन्त्रणमा लिइएको थियो ।
यसलाई मात्र आधारमान्दा पनि सिरहामा लागुऔषधको तस्करीको अवस्था भयावह रहेको पुष्टि गर्छ ।
सशस्त्र प्रहरीवलको ७ वटा विओपी, र नेपाल प्रहरीको सोही सिमानाका एरियामा ७ वटा इलाका प्रहरी कार्यालय रहेपनि तस्कर र सेवनकर्ताहरु सयौँको संख्यामा वारीपारी गर्दापनि प्रहरी वेखबर रहेको स्थानीयहरु बताउँछन्।
सिमानाकाहरु खुकुलो भएसँगै लागुऔषधको कारोबार पनि भयावह रुपमा बढेको स्थानीयहरु बताउँछन्।
सिरहा प्रहरीको सफलता
सिरहा प्रहरीले चालु आर्थिक वर्षमा २ सय ६२ जना लागुऔषध कारोवारी र सेवनकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिएका छन्।
प्रहरीले गोप्य सूचनाको आधारमा हालसम्म १ सय ८४ वटा मुदामा ३ जना महिला र २ सय ५९ जना पुरुष सहित लागुऔषध कारोवारी तथा प्रयोग कर्ता प्रक्राउ गर्न सफल भएको प्रवक्ता पाण्डेले बताए ।
प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्त सम्ममा ३ सय ६६ किलो गाँजा, १ सय ३९ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर,र अन्य औषधि जन्य लागुपदार्थ नाइट्राभेट ३ हजार ९ सय ५८ पिस टयाब्लेट,नाइट्राकार,२ सय, डाइलेक्स डि.सि. ४ सय १६ बोतल सिरफ, डाइजेपाम २ हजार ३९५ एम्पुल,फेनारगन २ हजार ९८८ एम्पुल लगायत ठुलो मात्रामा लागुऔषधहरु बरामद गर्न सफल भएको प्रवक्ता पाण्डे बताउँछन् ।
प्रहरीले लागुऔषध नियन्त्रण गर्न निम्न प्रयासहरु गरेपनि तस्करहरु सिरहाको विभिन्न नाका हुँदै उदयपुरको कटारी र गाइघाट सम्म लागुऔषध विक्रिवितरणका लागी पुर्याउने गरेको स्रोतले जनाएको छ। जिल्लाका गाउँ गाउँका स–साना औषधी पसलहरुमा पनि प्रतिवन्धित लागुऔषध लुकाई छिपाई विक्रि गर्ने गरेको स्रोतको दाबी छ।
प्रहरीले दैनिक रुपमा केही लागुऔषध तस्कर तथा सेवनकर्ताहरु पक्राउ गरेपनि लागुऔषधको कारोवारी तथा सेवनकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति स्थानीय अभिभावकहरु चिन्तित छन् ।
नेपालमा प्रतिबन्ध गरिएका लागुऔषध भारतीय बजारमा सहजै पाउने र सिमानाकाहरुमा फितलो निगरानीका कारण सहज रुपमै वारीका बजारसम्म आउने भएकोले दिनदिनै गाँउ घरका युवाहरू लागुऔषधको शिकार बनिरहेको जानकारहरू बताउँछन्।































प्रतिक्रिया