पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचैजनाको पहिचान खुलेकाे छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरूलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।
यस्तै, फिदिम–४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुईजना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।
बाढीले याङवरक गाउँपालिका–२, फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान तथा कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एउटा पुल, तमोर करिडोरको एउटा पुल (बेलीब्रिज) बाढीले बगाएको छ ।
यस्तै, फालेलुङ गाउँपालिका वडा–३ र ७ को सीमामा रहेको एउटा रसोही फालेलुङ–३ र ५ को सीमामा रहेको अर्को पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा स्काभेटर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध छ । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३, पांग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ । फिदिम–३, कान्छीदोकानमा पनि भेलका कारण सडक अवरुद्ध भएको छ ।
यस्तै, फिदिम–यासोकअन्तर्गत कुम्मायक गाउँपालिका–४, वनथाकमा सडक अवरुद्ध भएको छ । फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बाढीले याङवरक–२ मा दुई र फालेलुङ–३ र ५ को सीमाको एउटा झोलुंगे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सडक सम्पर्कविच्छेद
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।
गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवाखोला पुल बगाएको छ। बाढीले ५४.५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
वि.सं. २०४२ मा निर्मित यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर, गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।
यस्तै, तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण गरिएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् ।
दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।
सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण बनेको छ । यस्तै, यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ ।





























प्रतिक्रिया