गोठ बगाउँदा हराएका तीन जना सम्पर्कमा आए, तर उद्धार हुन सकेन

गोठ बगाउँदा हराएका तीन जना सम्पर्कमा आए, तर उद्धार हुन सकेन

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङको सिदिङवामा बाढी पहिरोले याक्सा (गोठ) बगाएर सम्पर्कविहीन भएका तीन जना सम्पर्कमा आएका छन् । तर, उनीहरु हाल ओढारमा बसेकाे जानकारी पाएपनि उद्धार हुन सकेकाे छैन । 

निरन्तर वर्षासँगै बाढी पहिरोले बसेको गोठ छेउमा पहिरो गएपछि सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका थिए ।    

उनीहरू गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको गोठको छेउबाट पहिरो गएपछि ओढारमा बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

वडाध्यक्ष तामाङका अनुसार उनीहरु बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङ्दा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको उनले जानकारी दिए । 

उनले भने, “बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी परेको केही छिनमा रोक्ने केही छिनमै पर्ने क्रम चलिरहेको छ।” 

सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जान समस्या भएको हो । आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहेको अध्यक्ष तामाङले बताए। 

उद्धारका लागि आइतबार नै नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन ।

Logo