पछिल्लो दिनहरुमा सिरहा तस्करीको उर्वर भूमिको रुपमा चिनिन थालेको छ। जिल्लाको पूर्वी नाका ठाडी भन्सारका कर्मचारी र प्रहरी प्रशासनको मिलेमत्तोमा ठूलो परीमाणमा भन्सार छलीका सामानहरू नेपाल भित्रिएको पाइएको छ।
ठाडी भन्सार कार्यालयबाट प्याजको भन्सार बुझाएर काठमाडौं लैजाँदै गरेको अवस्थामा मकवानपुरको रातमाटे चौकी चेकपोष्ट नजिकबाट एक करोड ५० लाखभन्दा बढी मूल्य बरावरको अवैध कपडा प्रहरीले बरामद गरेको छ।
ठाडी भन्सार कार्यालयबाट भगवानपुर गाउँ पालिका-४ का लागि स्थानीय गोदावरी माता इन्टरनेशनल प्रालिले गत जेठ ३२ गते बीआर–०६जीई ५०५३ नम्वरको मिनी ट्रकमा १५ हजार आठ सय ६३ केजी प्याजको एक लाख ९३ हजार सात सय ९२ रुपैयाँ भन्सार बुझाए पनि ट्रकभित्र थोरै मात्रामा प्याजलोडगरी एक करोडभन्दा बढीको अवैध कपडा लैजाँदै गरेको अवस्थामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

भगवानपुरको लागि ल्याएको भनिएको ट्रक प्रहरीले मकवानपुरबाट प्याजको बोराभित्र लुकाएर सुटको कपडा काठमाडौं लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय काठमाडौंलाई बुझाएकाे छ ।
भगवानपुरको लागि ल्याएको प्याज कसरी काठमाडौं गयो भन्ने विषयमा गोदावरी माता इन्टरनेशनलका सञ्चालक मनिसकुमार महतोले आफ्नो फर्म प्रयोग गरेर काठमाडौंका व्यवसायी भुपेन्द्र प्रधानले सामान लगेको बताए । सञ्चालक महतोले आफू लगानी गरेर ल्याउनेभन्दा पनि सामान चाहिएकाहरुसँग समन्वय गरेर आफ्नो फर्म प्रयोग गरी सामान ल्याउने गरेको बताए। त्यसैले पनि आफूले सामान बिक्री गरेको विल नकाटेको उनले सुनाए।
उनले भने, ‘मेरो फर्म मात्रै प्रयोग भएको हो। प्रधानले कसरी के ल्यायो मलाई थाहा छैन। मलाई प्याज ल्याएको भन्नेमात्र जानकारी छ।’
भन्सार कार्यालयबाट नजिकै रहेको बजार भगवानपुर लाने भनेर भन्सार काटिएको भएपनि सो ट्रक अवैध कपडा सहित मकमानपुरबाट बरामद भएको छ। चालकसँग भएको कागजातको आधारमा शंकालागि चेकजाँच गर्दा बाेराभित्र कपडा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
यता ठाडी भन्सार कार्यालयले प्याजसहितका फलफूल जन्य समानहरु सबै पल्टाएर हेर्न नसक्ने भएकाले भित्र के रहेको भन्ने जानकारी नरहेको बताए। कार्यालयका वर्तमान निमित्त प्रमुख शिव कुशवाहले भने, ‘प्याज, फलफूल जस्ता सामाग्री सबै निकालेर हेर्न नसकिने भएकाले दुईचारवटा बोरा खोलेर हेरियो, खासै त्यस्तो पाइएन।’
उनले भन्सार काटिएको ३० घण्टापछि हेटौँडाबाट सामान बरामद भएकाले बाटोमा हेरफेर भएको हुनसक्ने आशंका गरे। यस सम्बन्धमा सीमा सुरक्षाको जिम्मा लिएर भन्सार कार्यालयसँगै रहेका सशस्त्र प्रहरीका डीएसपी दिपेन्द्र थापाले भन्सार कर्मचारीले दिएको कागजको आधारमा आफूहरु मुख्य योजनाकारसम्म पुग्न नसकेको बताए।
तर, ठाडीबाट लहान हुँदै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारासहित पाँचवटा जिल्ला पार गरेर ट्रक मकवानपुर पुग्नुलाई आशंकाको दृष्टिले हेरिएको छ। स्थानीय एक व्यवसायीले नै भने, ‘सेटिङगविना यत्रो सामान पाँचवटा जिल्ला पार गरेर जानै सक्दैन, पुरै सेटिङमै सामान गएको हो।’

त्यसैगरी, गत वैशाख २७ गते सिरहाको लहान नगरपालिका-१ बाट प्रहरीले भन्सार छलेर चोरी पैठारी गरी ल्याइएको करिब ७३ लाख रुपैयाँ मूल्य बराबरको आयुर्वेदिक औषधिहरू बरामद गरेको थियो।
प्रहरीका अनुसार लहान ६ घर भई लहान १ बस्ने रविन्द्रकुमार साहको घरमा भन्सार छलेर भारतबाट ल्याईएका आयुर्वेदिक औषधिहरू राखिएको गोप्य सूचनाको आधारमा बरामद गरेको थियो। प्रहरी टोलीले साह बस्दै आएको घरको बरन्डामा राखिएको विभिन्न स्वादका म्यांगो हर्ब्स ७७ कार्टुन, बुस्ट क्याप्सुल, लाइसोटोन, एसिकाल्म, बेक्टो, रुन्दती, फेरक्स आइरन, लाइसोटोन क्याप्सुलसहित ७४०४ प्याकेट, ७२ बोतल एसिकाल्म तथा प्रोटिन चकलेट २७ बट्टा बरामद गरेका थिए।
यो दुवै घटनाले सिरहामा तस्करी फस्टाएको पुष्टि हुने स्थानीयहरु बताउँछन्। प्रहरी र भन्सा कर्मचारीले देखाउनकै दिनभरी घरायसी सामान ल्याउने सर्वसाधारणको चेकजाँच गरे पनि सेटिङमा ठूला तस्करी हुने गरेको स्थानीयको आरोप छ।





























प्रतिक्रिया