सिंहदरबारको अधिकार गाँउगाँउमा भन्ने सरकारको मूल नारालाई चुनौती दिँदै अझै पनि गाउँघरमा प्रवाह हुने सेवाहरु प्रभावकारी बन्न सकेका छैनन्। सानातिना समस्याले पनि ठूला समस्या खडा गरिदिँदा दुर्गम भेगका जनताले पाउने सास्ती घटेको छैन।
मुगुको उतरपूर्वी भेगमा पर्ने मुगम कामारोङ्ग गाँउपालिकामा रहेका १,२,३,४ वडा कार्यालयमा ईन्टरनेट सेवा नहुँदा नागरिकहरुले जन्म,मृत्यू, बसाईसराई सेवा लिन १ दिन पैदल हिडेर पालिकामा रहेको संयुक्त वडा कार्यालयमा जानुपर्ने बाध्यता रहेको छ।
मुगम कामारोङ्ग गाउँपालिका क्षेत्रफलले निकै ठूलो भएपनि जनसंख्याको हिसाब थोरै रहेको ९ वडा भएको एक पालिका हो। कष्टकर भूगोलका कारण एक बस्तीबाट अर्को बस्ती पुग्न ३ देखि ५ घण्टा सम्म हिड्नुपर्ने हुन्छ।
पछिल्लो समयमा सरकारले पञ्जिकाधिकारीबाट हुने जन्म,मृत्यू,बसाईसराई,सामाजिक सुरक्षा भत्ता समेत अनलाईनमार्फत दर्ताको व्यवस्था गरेको हुँदा मुख्यत वडामा सचिव नबस्ने, त्यसमाथि ईन्टरनेटको सुविधा नहुँदा सामान्य सेवा लिनको लागि पनि २ देखि ५ घण्टा हिडेर पालिकाबाट सेवा लिनुपर्ने बाध्यता रहेको समाजसेवी गुरु स्याङ्गालामाले बताए।
वडा कार्यालयमा नत बत्ति छ नत ईन्टरनेट नै, दैनिक एक दिन हिडेर सामान्य सिफारिस लिनको लागि पालिका कार्यालय पुलुमा पुग्नुपर्ने बाध्य हुँदा नागरिकहरुले निकै दुःख पाउने गरेको मुगम कामारोङ्ग गाउँपालिका वडा नं १ का वडा अध्क्षय कामाटुन्डुप लामाले बताए।
सन् २०२४ सम्म पञ्जिकरण सम्बन्धि सेवालाई अनलाइनबाट सन्चालन गर्ने नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार मुगम कामारोङ्ग गाँउपालिकाका १ देखि ९ वडा सम्मका सबै मृत्यू ,जन्म,वसाईसराईलगायतका सेवाहरु अनलाईनबाट दर्ता सुरु गरिएका छन्।
पालिकाबाट प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सेवाबारे पहल गर्दा वडाको बजेट भन्दा बढी खर्च लाग्ने भएकोले वडा कार्यालयमा ईन्टरनेट,विद्युतको सेवा नहुँदा पालिकाको केन्द्र रहेको पुलुमा अवस्थित संयुक्त वडा कार्यालयबाट जनतालाई सेवा दिने गरेको मुगम कामारोङ्ग गाँउपालिका १ र २ वडाका वडा सचिव ईश्वर सिंहले बताए।
मुगुम कामरोङ्ग भूगोल र भाैतिकपूर्वधार ठूलो क्षेत्र रहेको पालिका हो। १ देखि ४ वडासम्म ईन्टरनेट नहुँदा निकै समस्या भएको छ भने ५ देखि ९ वडासम्म ईन्टरनेट सेवा उपलब्ध छ। ईन्टरनेट सेवा नभएका वडा र पालिकाभित्र रहेका स्वास्थ्य संस्था,विधालयमा समेत ईन्टरनेट सेवा प्रवाह गर्नको लागि आ.व ०८०/०८१को नीति तथा कार्याक्रममा बजेटको व्यवस्था गरिएको हुँदा अवको ३/४ महिनाभित्र सबै वडाहरुमा ईन्टरनेट सेवा पुर्याउने गरी कार्य भइरहेको मुगम कामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले जानकारी दिए।































प्रतिक्रिया