सुन तस्करी प्रकरणः १० जना पक्राउ

सुन तस्करी प्रकरणः १० जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो। 

राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्ने थप तीनजना कार्गो कम्पनी सञ्चालक रहेका छन्। जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिएका छन्। 

उनका अनुसार आज साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन्। त्यसमध्ये ६ जनालाई हिजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। हिजो दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चारजनालाई भने आज म्याद थप गरिने जनाइएको छ।हिजो दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन्। चीन जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

बुधबार पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल छन्। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो। 

Logo