गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन ।
 
उनीहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन्।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए।
 
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१,बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात,जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी  तिवारीले बताए।
 
यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ। यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ। भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ। यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ।

यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए। जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ। यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ। जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ।

निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन्। यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ।

Skip This
Skip This
Logo