भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा हुने भएको छ।
ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरू(विशेष गरी पोखरीहरु) बारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले उक्त कार्यक्रम हुने लागेको नगरपालिकाको सूचनामा प्रकाशित छ।
पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरेको छ। पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखु (पोखरी) बाट सुरु हुने जनाएको छ। त्यहाँ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि प्रमुखसहितको टोली पोखरीको परिक्रमामा जाने कार्यक्रम तालिका छ।
टोलीले नगरभरिका वडा नं १ देखि १० सम्म रहेको विभिन्न पोखरीहरुको पैदल यात्राबाट भ्रमण गरिने छ। पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ स्थित न्हुः पुखु (रानी पोखरी) सल्लाघारीमा समापन हुने जनाएको छ।
त्यहाँ सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिने जनाएको छ। यो वीचमा विभिन्न साँंस्कृतिक प्रदर्शनी गरिने पनि जनाएको छ। साथै विभिन्न नेवारी परिकाहरु पनि खान पाइने जनाएको छ। साथै नेवार समुदायमा प्रचलित झ्व भ्यव (लहरै बसेर खाने भोज) पनि खाने कार्यक्रम तालिका बनाइएको छ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ-ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ। कार्यक्रम १२ बजेबाट सुरु भई चार बजे सकाउने योजना राखिएको छ ।
यस्तो छ रूटः
लामग पुखु -नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु -तिनाछें – सलां गणेश पुखु -बसिकुलां नाग पुखु – दुगुमला- भोलाछें पुखु -अंचा पुखु- ब्यासी पुखु- ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) – न्हु पुखु ( रानी पोखरी)





























प्रतिक्रिया