पत्रकारहरुको प्रश्नः ‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’

पत्रकारहरुको प्रश्नः ‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गर्दे महासंघले विराेध प्रदर्शन गरेको हो । अरुको आवाज आफूहरुले सुने पनि आफ्नो आवाज कसैले नसुनेको आन्दोलनरत पत्रकारहरुको भनाइ छ ।

लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै बबरमहलमा प्रदर्शन गरिएको छ । पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएकाले महासंघले प्रदर्शन गर्नुपरेको जनाएको छ । पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिबद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागू नभएका मिडिया हाउसमा केन्द्रीत हुने उनको भनाइ छ ।

‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?,सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, मेरा सम्पादकको मुटु छ मर्म छैन, कोरोना कालको पहिलो महिनामै पत्रकारको विचल्ली, मालिक मोज र तडक भडकमा पत्रकार भोकै सडकमा, जस्ता नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा उत्रिएका थिए । लकडाउनको अवधिमा समस्या देखाएर पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबि विदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ ।

Logo