आरती साहको परिवारलाई आएन दसैं, १३० दिनदेखि माइतीघरमा धर्ना

आरती साहको परिवारलाई आएन दसैं, १३० दिनदेखि माइतीघरमा धर्ना

केन्द्रबिन्दु
0
Shares

माइतिघर मण्डलामा आरती साहको न्यायका लागि चार महिनादेखि धर्ना बसेका आरतीको माइतिपक्षलाई भने यो वर्ष दसैँ आएन । हत्या भएको भनिएकी जनकपुरकी आरती साहका परिवारले दसैँ नमनाउने भएका छन् । धर्नामा आरती साहका बुबा विनोद साह, आमा, दाइ र बहिनी छन् ।

उनीहरु आरतीले न्याय नपाएसम्म कुनै पनि चाडपर्व नमनाउने बताउँछन् । आरतीलाई न्याय दिलाएर मात्र काठमाडौँबाट फर्किने आरतीका दाइले बताए । बहिनीको हत्यारालाई माफीको माग गर्दा पनि प्रहरीबाट पटक पटक ज्यादती भोगेको उनको गुनासो छ । आफ्नो बहिनीको आत्महत्या नभई हत्या भएको बताए । दुई महिने गर्भवती बहिनीको उसकै घर परिवारले हत्या गरेको उनको आरोप छ । 

‘मेरो बहिनीलाई हत्या गर्नेहरु खुलेआम घुमिरहेका छन्, यस्तो अवस्थामा हामी कसरी चाडपर्व मनाउने ?’ आरतीका दाइले भने, ‘चाडपर्व खुसीयालीका लागि मनाउँछन् तर हामी खुसी छैनौँ, अनि कसरी मनाउने चाडपर्व ? घर गए पनि दुःख मनाएरै बस्ने हो, यहाँ पनि त्यही मनाएर बसेका छौँ ।’

शरीरमा श्वास रहेसम्म न्यायका लागि लड्ने उनले बताए । 

जेठ ७ गते घर छाडेर आएका उनीहरु त्यस यता काठमाडौँमै छन् । आफूहरुले आरतीलाई न्याय नमिलेसम्म घर फर्किदैनौँ भनेर सरकारलाई पनि भनेको बताए । आज धर्ना बसेको १३० दिन भएको छ, तर सरकारले न्याय दिनु त कता हो कता, उल्टै हामीलाई पटकपटक यातना दिएको छ, पटकपटक धरपकड गरी यहाँबाट भगाउने प्रयास गरेको छ, तर हामी यहाँबाट कहिँ पनि जाने वाला छैनाैं’ उनले भने । गृहमन्त्रीले १ हप्ताको समय मागेर छानविननै नगरेको आरतीको दाइको गुनासो छ ।  

जेठ ७ गते आरती साहको मृत्यु भएको थियो । आरती आफ्नो घर (श्रीमानको घर)मा बेहोस फेला परेपछि जनकपुरस्थित काब्य अस्पतालमा ल्याइएको थियो तर अस्पताल ल्याउँदा उनको निधन भइसकेको थियो । आरतीले आत्महत्या गरेकी हुन् कि हत्या भएको हो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन तर आरतीका माईतिपक्षले भने हत्या भएको दाबी गरेका छन् । बहिनीलाई पहिलादेखि नै यातना दिइरहेको उनको आरोप छ ।

तर आरतीका ससुरा र श्रीमानले भने आरतीले आत्महत्या गरेको दाबी गर्दै आएका छन् । आरतीको मृत्युपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु केही दिन अघि साधारण तारेखमा रिहा भएका छन् । 

उक्त घटनाका लागि प्रहरीमा जाँदा उल्टै आफूहरुलाई यातना दिएको, कुटपिट गरेको र प्रहरीले राम्रोसँग छानबिन पनि नगरेको उनीहरुको गुनासो छ ।  

Logo