फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् ।
ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन्। सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन्।
किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले बताए। गवारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोटनै मर्ने गरेको पुन मगरको भनाइ छ।
किसानले तत्काल सुक्न थालेका हाँगालाई समयमै काटेर फाले बोट मर्नबाट जोगिने उनले बताए। प्रायः कागतीमा लाग्ने यो रोग समय-समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने उनको सुझाव छ।
उनले भने,“ढुसी र काण्डको गवारो रोग लाग्दा कागतीका हाँगा मर्ने गर्दछ, यसको रोकथामका लागि किसानहरु पनि सजक हुनुपर्छ। सुक्न थालेका हाँगा बेलामै काट्नुपर्ने हुन्छ। यो समस्या अहिले जिल्लाको निसीखोला र यसको आसपासका ठाउँमा देखिएको छ।”
निसीखोला गाउँपालिकाका नरबहादुर बुढा मगरले बगैँचामा लगाएको ६० बोटमध्ये ३४ बोट मर्न थालेको बताए। टिप्ने बेलाको कागतीका दाना खस्नुका साथै बोटनै मरेको बुढा मगरले बताए।
अघिल्लो वर्ष लगाएका विरुवा समेत मर्न थालेको उनको भनाइ छ। दुई वर्षदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउने उनले आफ्नो करिब तीन लाखको क्षति हुने बताए।
“बारीमा छ-सात वर्ष पहिले लगाएका कागतीका रुख थिए। सुरुमा ती रुखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो,” उनले भने, “यसरी बोटनै मर्दै गए भने त मेरो लाखौँको लगानी डुब्छ, कसरी सुरक्षा दिने होला ?”
स्थानीय पूर्णबहादुर क्षेत्रीले ९० बोटमध्ये ७० भन्दा बढी बोटमा रोग देखिएको बताए। आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उनी बताउँछन्।
अघिल्लो वर्ष भने कुनै समस्या नदिएको उनको भनाइ छ। बागलुङ जिल्लामा हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती छ। पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ।































प्रतिक्रिया