1

लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

1
1
1

जनकपुर ।

प्रहरीले जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए अनुसार पक्राउ पर्नेमा जनकपुरधाम–४ का ३६ वर्षीय राजेशकुमार झा रहेका छन् । प्रादेशिक अस्पताल जनकपुरस्थित बजरङ्ग जेनरल स्टोरमा मास्क प्रतिथान ७५० रुपैयाँ र पञ्जा प्रतिपोका ५०० रुपैयाँमा बिक्री गरिरहेको अवस्थामा झालाई पक्राउ गरिएको जानकारी प्रनाउ कार्कीले दिए। झालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

त्यसैगरी शुक्रबार बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश शाह र वडा नं १४ बस्ने ४७ वर्षीय नरेशकुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले बिहीबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो । लकडाउन भए यता जनकपुरबाट कालोबजारी गर्ने १७ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्ने सबैले लकडाउनको मौका छोपेर खाद्यान्न, तरकारी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्री कालोबजारी गरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित: १६ चैत २०७६ ०७:१५ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी